काठमाडौं। ‘अहिंसा नै शान्ति र मैत्रीको आधारशिला हो’ भन्ने कालजयी सन्देशका वाहक, शान्तिका अग्रदूत गौतम बुद्धको २५७०औं जयन्ती आज देशभर विविध कार्यक्रम गरी मनाइँदै छ।
प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने यो पर्वलाई बौद्ध धर्मावलम्बीहरूले बुद्धको जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाण ९मृत्यु० को त्रिसंयोगका रूपमा विशेष श्रद्धाका साथ मनाउने गर्दछन्।
भगवान् विष्णुको नवौँ अवतारका रूपमा समेत पुजिने बुद्धको पूजा, आराधना र प्रवचन सुन्दै आज देशभरका चैत्य, गुम्बा र विहारहरूमा भक्तजनको घुइँचो लागेको छ।
लुम्बिनीदेखि स्वयम्भूसम्म विशेष रौनक
बुद्धको जन्मस्थल लुम्बिनीमा आज विशेष समारोहको आयोजना गरिएको छ। यस्तै काठमाडौंको स्वयम्भू, बौद्ध, नमोबुद्ध लगायतका प्रसिद्ध बौद्ध स्थलहरूमा बिहानैदेखि श्रद्धालुहरूको उपस्थिति रहेको छ। बौद्ध धर्मगुरुहरू र लामाहरूले परम्परागत विधिअनुसार पूजापाठ गरी विश्व शान्तिको कामना गरेका छन्।
सिद्धार्थ गौतमदेखि ‘बुद्ध’ सम्मको यात्रा
आजभन्दा २५७० वर्षअघि ९इसापूर्व ५६३० रुपन्देहीको लुम्बिनी उद्यानमा पिता राजा शुद्धोधन र माता मायादेवीको कोखबाट राजकुमार सिद्धार्थ गौतमको जन्म भएको थियो।
राजसी सुखसुविधामा हुर्किए पनि मानिसले भोग्नुपरेका रोग, बुढ्यौली र मृत्युजस्ता दुःख देखेर विरक्तिएका सिद्धार्थ २९ वर्षको उमेरमा सत्य र शान्तिको खोजीमा दरबार त्यागेर गृहत्याग गरी तपस्यामा निस्किएका थिए।
लामो कठोर तपस्यापछि उनले गया ९वर्तमान भारतको बोधगया० मा बुद्धत्व अर्थात् ‘ज्ञान’ प्राप्त गरे र संसारलाई ‘पञ्चशील’ को शिक्षा दिए।
बुद्धका सन्देश र वर्तमान सान्दर्भिकता
हिंसा, द्वन्द्व र अशान्तिले आक्रान्त वर्तमान विश्वमा बुद्धका सन्देशहरू अझ बढी सान्दर्भिक बनेका छन्। “मनको शान्ति नै विश्व शान्तिको मार्ग हो” भन्ने उनको दर्शनले व्यक्ति, समाज र राष्ट्रलाई एकताबद्ध बनाउन मद्दत पुर्याउँछ।
बुद्ध जयन्तीका अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ भने देशका विभिन्न स्थानमा दीप प्रज्वलन, रक्तदान, फलफूल वितरण र शान्ति पदयात्रा जस्ता कार्यक्रमहरू पनि आयोजना गरिएका छन्।














