काठमाडौं । केही दिनयतादेखिको वर्षासँगै आएको पहिरोका कारण देशभरीमा विभिन्न मुख्य राजमार्ग तथा सडकखण्ड पूर्णरुपमा अवरुद्ध भएका छन्।
आज बिहानको पहिरोका कारण ललितपुर बागमती गाउँपालिका-३ पाङ्दुरस्थित कान्तिलोकपथ, प्युठान सरुमारानी गाउँपालिका-४ खहरे खोलास्थित भालुवाङ-प्युठान सडकखण्ड, मकवानुर भीमफेदी गाउँपालिका-८ भर्याङ डाँडास्थित कान्ति लोकपथ सडकखण्ड तथा लमजुङ मध्यनेपाल नगरपालिका-१० बिमिरे भञ्ज्याङस्थित मध्यपहाडी लोकमार्ग पूर्ण रुपमा अवरोध भएका केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले जानकारी दिए।
यही वैशाख १२ गतेको बाढीका कारणअवरुद्ध भएका भोजपुर नगरपालिका-५ बोखिमको मध्यपहाडी लोकमार्ग तथा वैशाख १६ गतेको पहिरोले म्याग्दीको अन्नपूर्ण गाउँपालिका-३ जलथलेस्थित बेनी-जोमसोम सडकखण्ड भने एकतर्फी रुपमा सञ्चालनमा आएका प्रहरीले जनाएको छ।
वर्षातको समयमा बाढी,पहिरोको जोखिम बढी हुने भएकाले अवरुद्ध भएका र एकतर्फी सञ्चालनमा आइका राजमार्गमा यात्रा गर्दा सुरक्षित एवं सावधानी तरिकाले यात्रा गर्न प्रहरीले आग्रह गरेको छ। रासस














