रोशी खोलामा फसेका ८९ यात्रुहरूको सकुशल उद्धार, पाँच चालक नियन्त्रणमा



काठमाडौं । अविरल वर्षापछि बढेको रोशी खोलाको बहावका कारण बीच धारमा फसेका यात्रुहरूको सकुशल उद्धार गरिएको छ।

सोमबार साँझदेखि परेको निरन्तर वर्षाले खोलाको बहाव ह्वात्तै बढेपछि पाँचवटा माइक्रोबस बीच भागमै अड्किएका थिए। ती सवारीमा रहेका ८९ जना यात्रुहरूलाई नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको संयुक्त टोलीले सुरक्षित रूपमा उद्धार गरेको हो।

उद्धारपछि सबै यात्रुहरूलाई सुरक्षित गन्तव्यतर्फ पठाइएको नेपाल प्रहरीले जनाएको छ ।

उद्धार कार्यपछि प्रहरीले लापरवाहीपूर्वक सवारी सञ्चालन गरी यात्रुको ज्यान र सम्पत्तिमा जोखिम सिर्जना गरेको आरोपमा पाँचवटै माइक्रोबसका चालकलाई नियन्त्रणमा लिएको जनाएको छ । उनीहरूलाई जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकको हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति : बैशाख २२, २०८३ मंगलबार  ८ : २५ बजे