काठमाडौँ । देशका केही स्थानमा आज तीव्र हावाहुरी चल्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज एकैदिन वर्षा, चट्याङ्ग, हावाहुरी र अत्यधिक गर्मीको मिश्रित प्रभाव देखिने भएको छ । मौसम पूर्वानुमान महाशाखाले पश्चिमी वायु, स्थानीय वायु र पूर्वी भूभाग नजिक सक्रिय न्यून चापीय प्रणालीका कारण मौसम अस्थिर बनेको जनाएको छ ।
कोसी प्रदेशका झापा र मोरङसहित आसपासका जिल्लामा तीव्र हावाहुरीको पूर्वानुमान छ । मधेस प्रदेशका बारा, पर्सा, सर्लाही र धनुषासहित आसपासका जिल्ला तीव्र हावाहुरीको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
वाग्मती प्रदेशका मकवानपुर र चितवनसहित आसपासका जिल्लामा हावाहुरीको सम्भावना छ । गण्डकी प्रदेशका नवलपुर र तनहुँसहित आसपासका जिल्लामा हावाहुरीको पूर्वानुमान रहेको महाशाखाले जनाएको छ ।
लुम्बिनी प्रदेशका रुपन्देहीसहित आसपासका जिल्लामा पनि तीव्र गतिको हावाहुरीको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
मौसमविद्हरूका अनुसार प्रि(मनसुन सक्रिय भएसँगै पहाडी र हिमाली क्षेत्रमा आकस्मिक वर्षा तथा तराई क्षेत्रमा गर्मी र हावाहुरीको जोखिम एकसाथ बढेको हो ।














