काठमाडौँ । कुमारी बैंक लिमिटेडले डिजिटल बैंकिङ सेवामा नयाँ आयाम थप्दै नेपालको पहिलो रियल–टाइम ईआरपी ‘एकीकृत डिजिटल कर्जा’ प्लेटफर्म सार्वजनिक गरेको छ।
बैंकले आएमएस सफ्टवेयर प्रा.लि.सँगको सहकार्यमा यो प्रणाली विकास गरेको हो।
नयाँ प्रणालीमार्फत व्यवसायी ग्राहकहरूले अब बिनाधितो चालु पूँजी कर्जा पूर्ण रूपमा डिजिटल प्रक्रियाबाट प्राप्त गर्न सक्नेछन्। कर्जा आवेदनदेखि स्वीकृति, वितरण र भुक्तानीसम्मका सबै चरणहरू अनलाइन र स्वचालित रूपमा सम्पन्न हुने व्यवस्था गरिएको बैंकले जनाएको छ।
ईआरपी प्रणालीसँग प्रत्यक्ष एकीकरण भएपछि बैंकले व्यवसायहरूको बिक्री, कारोबार र मौज्दात सम्बन्धी वास्तविक–समय (रियल–टाइम) डाटाका आधारमा कर्जा योग्यता मूल्यांकन गर्न सक्नेछ। यसले परम्परागत धितो प्रक्रिया हटाउँदै छिटो र सटीक कर्जा निर्णय गर्न सहयोग पुर्याउने अपेक्षा गरिएको छ।
यस प्रणालीअन्तर्गत ईआरपी प्रयोग गर्ने व्यवसायहरूले आफ्नो कारोबार प्रदर्शनका आधारमा अधिकतम रु ५ लाखसम्मको चालु पुँजी कर्जा प्राप्त गर्न सक्नेछन्। उक्त कर्जा १२ महिनासम्म समान मासिक किस्तामा भुक्तानी गर्न सकिने व्यवस्था छ।
बैंकका अनुसार माग, प्रयोग र नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार भविष्यमा कर्जा सीमा विस्तार गर्दै डिजिटल कर्जा प्रणालीलाई अझ सुदृढ र प्रभावकारी बनाइनेछ।
यो पहल नेपाल राष्ट्र बैंकको डिजिटल कर्जा सेवा विस्तार तथा वित्तीय पहुँच अभिवृद्धि गर्ने नीतिअनुरूप रहेको बैंकले जनाएको छ। विशेषगरी साना तथा मझौला उद्यम(SME) लाई लक्षित गर्दै ल्याइएको यो सेवाले वित्तीय समावेशीकरणमा महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ।
देशभर २८६ शाखा र ४१ एक्सटेन्सन काउन्टरमार्फत सेवा दिँदै आएको कुमारी बैंकले यो प्रविधिमार्फत नेपालमा डिजिटल बैंकिङ रूपान्तरणको अग्रपंक्तिमा आफूलाई स्थापित गरेको जनाएको छ। बैंकले आगामी दिनमा पनि सरल, छिटो र प्रविधिमैत्री सेवा विस्तार गर्दै जाने प्रतिबद्धता व्यक्त गरेको छ।














