काठमाडौं। हाल नेपालको मौसममा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखाका साथै स्थानीय र पूर्वीय वायुको आंशिक प्रभाव देखिएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू-भागका साथै कोशी प्रदेशको तराई क्षेत्रमा साधारणतया बदली रहनेछ।
त्यस्तै लुम्बिनी प्रदेशको पहाडी भू-भाग र मधेश प्रदेशको तराई क्षेत्रमा आंशिक बदली रही देशका अन्य तराई भू(भागमा भने मौसम मुख्यतया सफा रहने देखिन्छ।
यसै वायुको प्रभावका कारण आज कोशी प्रदेशका पहाडी तथा हिमाली भू(भागका केही स्थानहरूमा तथा बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एक-दुई स्थानमा पनि मौसम बिग्रन सक्ने अनुमान गरिएको छ। तराई क्षेत्रतर्फ कोशी प्रदेशका थोरै स्थान र मधेश प्रदेशका एक-दुई स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना रहँदा लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा भने अत्यधिक गर्मी अर्थात् तातो लहर ९लु० चल्ने तथा बागमती र गण्डकीका तराई क्षेत्रमा पनि दिनभर तातो हावा चल्ने भएकाले सतर्कता अपनाउन महाशाखाले सचेत गराएको छ।
आज रातिको मौसममा पनि कोशी प्रदेशमा साधारणतया बदली रहनेछ भने मधेश प्रदेश र अन्य पहाडी भू(भागमा आंशिक बदली हुनेछ। बाँकी तराई क्षेत्रमा भने मौसम मुख्यतया सफा नै रहनेछ।
रातिको समयमा कोशी प्रदेशका पहाडी तथा हिमाली भू-भागका थोरै स्थान र बागमती तथा गण्डकी प्रदेशका एक(दुई स्थानमा मेघगर्जनसहित मध्यम वर्षा र हिमपातको सम्भावना यथावत रहनेछ। विशेष गरी कोशी प्रदेशको पहाडी भू-भागका एक–दुई स्थानमा राति भारी वर्षाको समेत जोखिम रहेकाले ती क्षेत्रका बासिन्दालाई आवश्यक सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।














