बर्डफ्लु संक्रमणपछि जावलाखेल चिडियाखाना दुई साताका लागि बन्द



काठमाडौंं । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा रहेका केही पक्षीमा बर्डफ्लु संक्रमण पुष्टि भएपछि चिडियाखाना कम्तीमा दुई साताका लागि बन्द गरिएको छ।

राष्ट्रिय प्रकृति संरक्षण कोषले आज सूचना जारी गर्दै सर्वसाधारणको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखी आजदेखि अर्को सूचना प्रकाशित नभएसम्मका लागि चिडियाखाना बन्द गरिएको जनाएको छ।

कोषकी प्रवक्ता रचना शाहले चिडियाखानाभित्र काग र परेवा मरेको अवस्थामा फेला परेपछि गरिएको परीक्षणमा बर्डफ्लुको संक्रमण देखिएको बताइन्।

चिडियाखानामा बर्डफ्लुका कारण काग र परेवा मरेको पाइयो। पशु चिकित्सक तथा सम्बन्धित विज्ञसँग परामर्श गरिरहेका छौँ, उनले भनिन्,अन्य वन्यजन्तुलाई कसरी सुरक्षित राख्ने भन्ने विषयमा आवश्यक उपाय अवलम्बन गरिएको छ।

प्रवक्ता शाहका अनुसार तत्कालका लागि चिडियाखाना आगन्तुकका लागि बन्द गरिएको छ। कम्तीमा दुई सातासम्म बन्द रहने र त्यसपछिको अवस्था विज्ञहरूको सुझाव तथा जोखिम मूल्यांकनका आधारमा तय गरिने उनले बताइन्।

चिडियाखानाभित्र रहेका अन्य जीवजन्तुको स्वास्थ्य अवस्था निगरानी बढाइएको तथा सम्भावित संक्रमण नियन्त्रणका लागि आवश्यक सतर्कता अपनाइएको कोषले जनाएको छ।

प्रकाशित मिति : असार ५, २०८३ शुक्रबार  ८ : ०३ बजे