कस्तो रहला आज देशभरको मौसम ?



काठमाडौं। नेपालमा हाल देशको पूर्वी क्षेत्र अर्थात् कोशी प्रदेशमा मनसुनी वायुको आंशिक प्रभाव रहेको छ भने अन्य भूभागमा पश्चिमी र स्थानीय वायुको संयुक्त प्रभाव देखिएको छ। यस मौसमी प्रणालीका कारण कोशी प्रदेशसहित देशका हिमाली तथा पहाडी भूभागमा साधारणतया बदली भइरहेको छ।

यस्तै मधेश र बागमती प्रदेशको तराई क्षेत्रमा आंशिक बदली रहे पनि लुम्बिनी र कर्णाली प्रदेशको तराई भूभागमा भने मौसम मुख्यतया सफा रहेको छ। हाल कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

आज दिउँसो देशका हिमाली र पहाडी भूभागका साथै कोशी प्रदेशको तराई क्षेत्रमा साधारणतया बदली रहने प्रक्षेपण गरिएको छ। मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिक बदलीको सम्भावना रहँदा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागमा भने मौसम मुख्यतया सफा रहनेछ।

यसै क्रममा कोशी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानहरूमा तथा बागमती र गण्डकी प्रदेशका हिमाली एवं पहाडी भूभागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ।

साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका एक(दुई स्थानमा पनि वर्षाको योग देखिएको छ। तराईतर्फ कोशी प्रदेशका थोरै स्थान र मधेश प्रदेशका एक(दुई स्थानमा मेघगर्जनसहित मध्यम वर्षा हुन सक्नेछ।

यद्यपि, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा अत्यधिक गर्मीका कारण तातो लहर ९लू० चल्ने तथा बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा समेत तातो दिन हुने सम्भावना रहेकाले सतर्कता अपनाउन अनुरोध गरिएको छ।

आज रातिको समयमा कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका साथै कोशी प्रदेशकै तराई भूभागमा साधारणतया बदलीकै अवस्था रहनेछ।

मधेश प्रदेश र लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागमा आंशिक बदली हुने भए पनि बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागमा भने मौसम मुख्यतया सफा रहने अनुमान छ।

राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा र हिमपात हुन सक्नेछ। यसैगरी मधेश प्रदेश र कोशी प्रदेशको तराईका थोरै स्थानहरूमा पनि मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेकाले विभागले ती क्षेत्रका बासिन्दालाई आवश्यक पूर्वतयारी अपनाउन सचेत गराएको छ।

प्रकाशित मिति : असार ८, २०८३ सोमबार  ७ : ४८ बजे