काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले आज चिया उद्योगीहरूसँग भेटवार्ता गर्दैछन् ।
भेटमा चिया व्यवसायीहरूले भोगिरहेका समस्या र त्यसको समाधानका उपायबारे छलफल हुने प्रधानमन्त्री कार्यालयले जनाएको छ ।
प्रधानमन्त्री शाहले पछिल्ला दिनहरूमा विभिन्न व्यवसायी र उद्योगीहरूसँग भेट गर्दै आएका छन् । उनले यसअघि हस्तकला महासंघ, उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, चेम्बर अफ कमर्स, निर्माण व्यवसायी महासंघ, फुटवेयर व्यवसायी, सेयर लगानीकर्ता र तयारी पोसाक उद्योगीका प्रतिनिधिसँग छलफल गरिसकेका छन् ।
तर यी भेटघाटमा अर्थमन्त्री र सम्बन्धित मन्त्रालयका मन्त्रीहरू भने सहभागी गराइएको छैन ।
आजको भेटमा अर्गानिक एसोसिएसन अफ नेपाल, गोर्खा टी स्टेट, हिमालयन सांग्रिला चिया उद्योग र अन्नपूर्ण अर्गानिक एग्रो इन्डस्ट्रीका अध्यक्ष तथा प्रतिनिधिहरू सहभागी हुनेछन् ।
प्रधानमन्त्रीसँगको आजको छलफलमा निर्यात समस्या र चिया उद्योग सुधारका विषयमा पनि कुरा हुने बताइएको छ ।














