नारायणी तटबन्ध निर्माणको काममा तीव्रता



चितवन । चार वर्षअघि सम्झौता भएर सुस्त गतिमा काम भइरहेको नारायणी नदीमा तटबन्धन निर्माणले तीव्रता पाएको छ। समयमा काम हुन नसकेका आयोजनाको कामलाई पछिल्लो समय तीव्रता दिइएको हो।

गत वर्षको कात्तिकसम्म भौतिक प्रगति कमजोर भएका दुई निर्माण आयोजनाको कामले अहिले पनि गति पाएको हो। सम्झौता भएर पनि समयमा सम्पन्न हुन नसकेका प्रमुख दुई निर्माण यतिबेला अन्तिम चरणमा पुगेका छन्।

चितवनको सिसै-भगेँडी बालुवा क्षेत्रको ६ किलोमिटर तटबन्धन गत कात्तिकसम्म २४ प्रतिशतमात्र सम्पन्न भएको थियो। सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालयको सक्रियतासँगै अहिले ९० प्रतिशत भौतिक प्रगति हासिल भएको छ।

कार्यालयका प्रमुख डा नारायणप्रसाद सुवेदीका अनुसार असार मसान्तसम्ममा ९० दशमलव ९३ प्रतिशत काम सम्पन्न भएको छ। उनले भने, असार मसान्तभित्रै सक्ने लक्ष्य लिए पनि पेट्रोलियम पदार्थको मूल्यवृद्धिका कारण काम प्रभावित भयो। यस्तै, नारायणी नदीपारि गैँडाकोटको कुसुमघाटबाट थुम्सीसम्मको तटबन्धनको काम पनि ९९ प्रतिशत सकिएको सुवेदीले बताए।

कार्यालयका सूचना अधिकारी सागर पौडेलका अनुसार तीन वर्ष ६ महिनासम्म ४७ प्रतिशतमात्र भएको निर्माण असार मसान्तसम्म आइपुग्दा ९९ प्रतिशत पुगेको छ। चितवनतर्फको काम विसं २०७९ असार १० गते शर्मा सगुन निर्माण कम्पनीसँग सम्झौता भइ काम अघि बढेको थियो।

चितवनतर्फका सोही ठाउँका पाँच ठेक्कामध्ये चारवटा ‘प्याकेज’ मा काम सम्पन्न भइसकेका छन्। सिसै-भगेँडीको काम भने रोकिएको सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालयले जनाएको छ। सो ठाउँको तटबन्धनको काम अहिले ९० प्रतिशत सकिएपछि बर्सातमा आउने बाढीको जोखिम धेरै कम भएको छ। ६ किलोमिटर लामो यो तटबन्ध ३७ करोड रूपैयाँमा सम्झौता भएको हो। समस्या पहिचान गरी निरन्तर पहल गरेपछि कामले गति लिएको प्रमुख डा सुवेदीले बताए।

गैँडाकोटतर्फको कुसुमघाट-थुम्सी क्षेत्रको करिब पाँच किलोमिटर तटबन्धका लागि विसं २०७९ मङ्सिर १५ गते सम्झौता भएको थियो। एक अर्ब नौ करोड रूपैयाँ लागतमा सम्झौता भएको तटबन्धको काम अहिले ९९ प्रतिशत भएको छ। कार्यालय प्रमुख डा सुवेदीले यो क्षेत्रमा दुबोको चपरी राख्ने र अन्य साना काम मात्र बाँकी रहेको बताए। रासस

प्रकाशित मिति : श्रावण १०, २०८३ आईतबार  ६ : ३६ बजे