बाढी र पहिरोले तीन राजमार्ग पूर्ण रूपमा र छ वटा आंशिक रूपमा अवरुद्ध, उच्च सतर्कता अपनाउन आग्रह



काठमाडौँ । अविरल वर्षाका कारण आएको बाढी र पहिरोले देशका विभिन्न स्थानमा यातायात सेवा प्रभावित बनेको छ। सडक विभागका अनुसार बाढी र पहिरोका कारण तीन वटा सडकखण्ड पूर्ण रूपमा र छ वटा सडकखण्ड आंशिक रूपमा अवरुद्ध भएका छन् भने पहिरोबाट प्रभावित २४ वटा सडकखण्ड सामान्य सुधारपछि पुनः सञ्चालनमा आएका छन्। पहिरो, नदी कटान, हिलो र सडक भासिने समस्याका कारण मुख्य राजमार्गहरूमा सवारी साधन सञ्चालनमा समस्या उत्पन्न भएको नेपाल प्रहरीले जनाएको छ।

सम्भावित जोखिमलाई मध्यनजर गर्दै बीपी राजमार्गअन्तर्गत धुलिखेल–सिन्धुली क्षेत्रमा बेलुका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। यसैगरी, मकवानपुरको कान्ति लोकपथमा पनि वर्षाका कारण बेलुका सबै प्रकारका सवारीसाधन चलाउन निषेध गरिएको छ। इलाम नगरपालिका–९ राजदुवालीस्थित मेची राजमार्ग एक महिना अवरुद्ध छ । पानी परेपछि वैकल्पीक सिमलगोलाई सडक समेत हिलो भएका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ ।

यस्तै सिन्धुपाल्चोकस्थित अरनिको राजमार्गका भोटेकोशी गाउँपालिका–४ अन्तर्गत जिरोकिलो, कोदारी र लिपिङ क्षेत्रमा पहिरो, लेदो र सडक भासिएका कारण यातायात पूर्ण रूपमा बन्द रहेको छ। दोलखाको लामोसाँघु–रामेछाप सडकअन्तर्गत तामाकोशी गाउँपालिका–५ किर्नेटारमा नदीले सडक कटान गरेपछि पूर्ण रूपमा बन्द भएको भए पनि खिम्ती ग्रामीण विद्युत् सहकारी संस्थाको परिसरबाट वैकल्पिक मार्ग सञ्चालनमा ल्याइएको छ।

वर्षाका कारण सडकको स्थिति निरन्तर फेरबदल भइरहने भएकाले यात्रामा निस्किनुअघि सम्बन्धित निकायबाट सडकको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न र उच्च सतर्कता अपनाउन नेपाल प्रहरीले सर्वसाधारणसँग अनुरोध गरेको छ।

प्रकाशित मिति : श्रावण २०, २०८३ बुधबार  ७ : ५७ बजे