काठमाडौं । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ को अवसर पारेर नयाँ ‘पञ्च ईभी’(Punch.ev) र नयाँ ‘टियागो ईभी’ (tiyago.ev) सार्वजनिक गरेको छ।
नयाँ पञ्च ईभीको सुरुवाती मूल्य ३३ लाख ९९ हजार रुपैयाँ निर्धारण गरिएको छ। तर, एक्स्पो अवधिभर बुकिङ गर्ने ग्राहकहरूले यसलाई विशेष अफरअन्तर्गत ३२ लाख ९९ हजार रुपैयाँमै खरिद गर्न सक्नेछन्।
त्यसैगरी, नयाँ टियागो ईभीको सुरुवाती मूल्य २८ लाख ९९ हजार रुपैयाँ रहेको छ। एक्स्पोमा यी दुवै गाडी बुकिङ गर्ने ग्राहकका लागि कम्पनीले ११ वर्ष वा २ लाख २० हजार किलोमिटरसम्मको विस्तारित वारेन्टी सुविधा उपलब्ध गराएको छ।
गाडी सार्वजनिक कार्यक्रममा बोल्दै सिप्रदी ट्रेडिङ प्रालिका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले दुवै गाडी फरक–फरक ग्राहकको आवश्यकता पूरा गर्ने गरी विकास गरिएको जानकारी दिए । उनले भने, ‘नेपालमा पछिल्लो प्रविधिसहितका विद्युतीय सवारीसाधन भित्र्याउन हामी प्रतिबद्ध छौं । नयाँ पञ्च ईभी र टियागो ईभी नेपाली बजारमा सार्वजनिक गर्नुले हाम्रो प्रतिबद्धतालाई अझ पुष्टि गरेको छ’ ।
सिप्रदी ट्रेडिङका चीफ अपरेटिङ अफिसर राजेशप्रसाद गिरीले ईभी बिक्रीसँगै सम्बद्ध सेवाको सञ्जाल बिस्तार गरिरहेको प्रष्ट पार्दै भने, ‘ुविद्युतीय सवारीसाधनप्रतिको हाम्रो प्रतिबद्धता गाडी बिक्रीमा मात्र सीमित छैन । ग्राहकलाई ईभीको प्रयोगमा थप विश्वास र सहजता दिलाउन हामी बलियो पूर्वाधार निर्माणमा पनि लगानी गरिरहेका छौँ। हाल २१ भन्दा बढी ईभी सर्भिस सेन्टर, ४० वटा डीसी चार्जिङ प्वाइन्ट र १५० भन्दा बढी एसी चार्जिङ प्वाइन्ट सञ्चालनमा छन्’ ।
ईभीको नेटवर्क विस्तारसँगै आवश्यक पूर्वाधार निर्माणमा पनि सिप्रदीले जोड दिँदै आएको जनाएको छ ।
नयाँ पञ्च ईभी: थप शक्तिशाली र प्रविधियुक्त एसयूभी
अत्याधुनिक ‘एक्ट.इभि’ प्लेटफर्ममा आधारित नयाँ पञ्च ईभीमा ३२ kwh र ४०kwh क्षमताका दुई ब्याट्री विकल्प उपलब्ध छन्, जसले नेपालको बाटोमा गरिएको परीक्षण अनुसार एकपटकको फुल चार्जमा ३०० देखि ३२५ किलोमिटरसम्मको रेन्ज दिन्छन्।
यस मोडलमा १९५ एमएमको उच्च ग्राउन्ड क्लियरेन्स, BNCAP ५-स्टार सुरक्षा रेटिङ, ६ वटा एयरब्याग, ३६० डिग्री क्यामेरा, १.५ CDC फास्ट चार्जिङ, भ्वाइस एक्टिभेटेड सनरुफ, २६.०३ सेन्टिमिटरको हर्मन इन्फोटेनमेन्ट तथा डिजिटल ककपिट, भेन्टिलेटेड सिट र ३६६ लिटरको बुट स्पेस समावेश गरिएको छ।
नयाँ टियागो ईभी: सुरक्षित र अत्याधुनिक ह्याचब्याक
दैनिक आवतजावतलाई सहज बनाउन ल्याइएको नयाँ टियागो ईभीमा नयाँ लुक्स, आकर्षक रङ, ३६० डिग्री एचडी क्यामेरा प्रणाली, २६.०३ सेन्टिमिटरको इन्फोटेनमेन्ट र ६ वटा एयरब्याग जस्ता सुरक्षा सुविधाहरू छन्।









