भोटेकोशी उदगम स्थल आसपासमा बन्यो जोखिमयुक्त ताल, उच्च सतर्कता अपनाउन आग्रह



काठमाडौँ । विपद व्यवस्थापन प्राधिकरणले रसुवागढी नाकाबाट करिब १८ किलोमिटर माथिल्लो तटीय क्षेत्रमा ल्हेन्दे खोलाको बहाव अवरुद्ध भई ठूलो ताल बनेको प्रारम्भिक अध्ययनबाट देखिएको उल्लेख गरेको छ । ताल फुटेर बाढी आउने जोखिम भएकाले तल्लो तटीय क्षेत्रमा सतर्कता अपनाउन अपिल गरेको छ ।

भोटेकोशी नदीमा पुनः बाढीको जोखिम देखिएपछि तल्लो तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।

जल तथा जलस्रोत अनुसन्धान केन्द्रले आज जारी गरेको सूचना अनुसार चीनतर्फबाट प्राप्त भू–उपग्रह तस्बिर तथा प्रारम्भिक विश्लेषणका आधारमा बुधबार गएको बाढीको उद्गमस्थान आसपासका क्षेत्रमा ताल बनेको जनाइएको छ ।

उक्त तालमा पानीको सतह बढी फुट्ने जोखिम रहेको सूचनामा उल्लेख छ । सो अवस्थालाई ध्यानमा राख्दै अर्को सूचना जारी नभएसम्म भोटेकोशी नदीको तल्लो तटीय क्षेत्रका बासिन्दा, यात्रु, उद्धारमा खटिएका उद्धारकर्ता तथा सम्बन्धित सबैलाई विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ ।

पछिल्लो सूचनामा नदी किनार तथा अन्य जोखिमयुक्त क्षेत्रबाट सुरक्षित स्थानमा रहन र सम्भावित बाढीको जोखिमलाई गम्भीरतापूर्वक लिन अनुरोध गरिएको छ ।

केन्द्रको बाढी पूर्वानुमान शाखाका प्रमुख विनोद पराजुलीले जोखिमलाई ध्यानमा राखी सम्बन्धित निकाय तथा सर्वसाधारणलाई आवश्यक सावधानी अपनाउन आग्रह गरे ।

प्रकाशित मिति : भाद्र ११, २०८३ बिहीबार  ७ : ०७ बजे