बाढीमा नौ जलविद्युत् आयोजनाका ५३७ जना अझै सम्पर्कविहीन,खोजी तिब्र बनाउन माग



काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण विभिन्न नौ वटा जलविद्युत् आयोजनाहरूमा कार्यरत ५३७ जना कर्मचारी तथा कामदारहरू अझै पनि सम्पर्कविहीन अवस्थामा रहेको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल ९इप्पान० ले जनाएको छ।

इप्पानका अनुसार बाढी प्रभावित रसुवा र नुवाकोट जिल्लामा सञ्चालित जलविद्युत् आयोजनाहरूमा कार्यरत कुल ८९८ जना मानिसहरू बाढी गएलगत्तै सम्पर्कविहीन बनेका थिए, जसमध्ये हालसम्म ३६१ जनाको सकुशल उद्धार भइसकेको छ।

प्राप्त विवरणअनुसार, २१६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली १ जलविद्युत् आयोजनाबाट मात्रै ५७६ जना सम्पर्कविहीन भएका थिए, जसमध्ये २५४ जनाको उद्धार गरिसकिएको छ। तर, सोही आयोजनाको मुख्य सुरुङमार्गभित्र अझै पनि ३०० जना श्रमिक तथा कर्मचारीहरू फसेको आशङ्का गरिएको छ र वर्तमानमा उनीहरूको खोजी तथा उद्धारका लागि सुरुङमार्गभित्र तीव्र प्रयास जारी राखिएको छ।

यसैगरी, १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनाबाट ९३ जना, रसुवा भोटेकोशी जलविद्युत् आयोजनाबाट ४ जना र लाङ्टाङ खोला जलविद्युत् आयोजनाबाट ४२ जना सम्पर्कविहीन भएका छन्, जसमा लाङ्टाङबाट १८ जनालाई जीवितै उद्धार गर्न सफलता मिलिसकेको छ।

त्यसैगरी, चिलिमे हाइड्रोपावरबाट ८ जना, मैलुङ खोला हाइड्रोपावरबाट ७ जना, त्रिशूली जलविद्युत् आयोजनाबाट १ जना र देवीघाट जलविद्युत् आयोजनाबाट पनि १ जना कर्मचारी हालसम्म सम्पर्कविहीन नै रहेका छन्। माथिल्लो त्रिशूली ‘थ्री’ ए जलविद्युत् आयोजनाबाट ४२ जना सम्पर्कविहीन भएको इप्पानले जनाएको छ भने माथिल्लो त्रिशूली ‘थ्री’ बी जलविद्युत् आयोजनाबाट १२२ जना सम्पर्कविहीन भएकाहरूमध्ये ९१ जनालाई जीवितै उद्धार गरिएको छ।

यस बाढीका कारण मिडल त्रिशूली गङ्गा जलविद्युत् आयोजनाबाट पनि २ जना श्रमिकहरू सम्पर्कविहीन भएका छन्। जलविद्युत क्षेत्रमा यस विपद्ले ठूलो जनधनको क्षति पुर्‍याएको भन्दै बेपत्ताहरूको खोजी कार्यलाई अझ तिब्र बनाउन माग गरिएको छ।

प्रकाशित मिति : भाद्र १३, २०८३ शनिबार  ८ : २० बजे