काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ तथा मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानभन्दा केही उत्तर तथा पूर्वतर्फ सरदर स्थानकै आसपासमा अवस्थित रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
हाल देशको अधिकांश भूभागमा साधारणतया बदली रही बागमती प्रदेशका केही स्थानहरूमा, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा कोशी, मधेस र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानहरूमा मध्यम किसिमको वर्षा भइरहेको छ। आज दिउँसोको समयमा पनि देशभर साधारणतया बदली रहने सम्भावना छ। देशका हिमाली तथा पहाडी भूभागका धेरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुन सक्ने मौसम विभागले पूर्वानुमान गरेको छ।
यसका साथै बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका धेरै स्थानहरूमा तथा मधेस प्रदेश र कोशी प्रदेशका तराई भूभागका केही स्थानहरूमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा तथा कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भूभागका एक–दुई स्थानमा भारी वर्षासमेत हुन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।
त्यसैगरी, आज रातिको समयमा पनि देशभर साधारणतया बदली कायम रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानहरूमा र कर्णाली तथा सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
मधेस प्रदेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानहरूमा र सुदूरपश्चिम प्रदेशको तराई भूभागका थोरै स्थानमा समेत मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ। आज राती कोशी प्रदेशको पहाडी तथा तराई भूभागका र बागमती प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।









