काठमाडौं । कानुनी झमेलाका कारण प्रभु बैंकको बलियो व्यवस्थापन समूह तितरबितर भएपछि बैंकभित्र बढेको कर्मचारीको खिचातानीले बैंकलाई थप जोखिमतर्फ धकेल्ने देखिएको छ।
बैंकभित्र बढिरहेको कर्मचारीबीचको खिचातानी रोक्ने तथा गलत नियत भएका कर्मचारीको जिम्मेवारीबारे आवश्यक निर्णय नगर्ने हो भने बैंक थप कमजोर हुन सक्ने चिन्ताले इमानदार कर्मचारीहरूले समेत बैंकको वर्तमान व्यवस्थापनलाई सचेत गराइरहेको बैंक स्रोतले बताएको छ।
विशेषगरी मर्जरपछि सेन्चुरी बैंकबाट आएका केही विवादित कर्मचारीका कारण कर्मचारीबीच खिचातानी बढ्नुका साथै गुट बनाउने प्रयाससमेत भइरहेको बताइएको छ।
सेन्चुरी बैंकसँगको मर्जरपछि हालसम्म पनि प्रभु बैंकको उच्च व्यवस्थापनमा मर्जरअघिकै प्रभु बैंकको समूह रहेको भन्दै तत्कालीन सेन्चुरी बैंकबाट आएका केही कर्मचारीले बैंक व्यवस्थापनविरुद्ध बिगतदेखिनै विभिन्न गतिविधि गरिरहेको बताइएको छ। बैंकका संवेदनशील सूचना बाहिर दिएर मिडियाबाजि गराउनेदेखि सेन्चुरीबाट आएका कर्मचारीको छुट्टै ह्वाट्सएप समूह बनाएर कर्मचारीबीच खिचातानी र गुटबन्दी गराउन उनीहरू सक्रिय रहेको बताइएको छ।
उनीहरूले कर्मचारीको गुट बनाएर गुटको बलमा बैंक व्यवस्थापनसँग आफ्नो पोजिसनका लागि बार्गेनिङ गर्ने र बैंकका कतिपय व्यावसायिक गतिविधिबाट व्यक्तिगत लाभ लिनसमेत प्रयास गरिरहेको बताइएको छ।
सेन्चुरी बैंकबाट आएका शंकर केसीलाई यसअघि केही समय निमित्त सीईओ भएका नीरज लम्सालले बैंकको प्रोजेक्ट फाइनान्स प्रमुख बनाएपछि पछिल्लो समय बैंकभित्रको समस्या झनै बढिरहेको छ।
केसीले मर्जर भएको चार वर्ष बितिसक्दा पनि सेन्चुरी बैंकबाट आएका कर्मचारीको गुट खडा गरी भित्रभित्रै उक्त गुटको आडमा व्यवस्थापनसँग बार्गेनिङ गर्ने तथा बैंकका धितो लिलामीमा रहेका जग्गामा चलखेल गर्ने प्रयास गरेको समेत आरोप लागेको छ।
बैंकको प्रोजेक्ट फाइनान्स प्रमुखको जिम्मेवारीमा रहेका शंकर केसी र बैंकका गोप्य तथा संवेदनशील सूचना बाहिर दिएपछि धनगढीमा सरुवा गरिएका रमेशकुमार श्रेष्ठको समूहले काठमाडौंका एक व्यवसायीको बूढानीलकण्ठस्थित २६ रोपनी धितो जग्गाको लिलामी प्रक्रियामा चलखेल गरिरहेको खुलेको छ।
बैंकको प्रोजेक्ट फाइनान्स प्रमुखको जिम्मेवारीमा रहेका शंकर केसी बैंकिङ क्षेत्रमा विवादित पात्र समेत हुन्। यसअघि एनआईसी एशिया, नेपाल बैंक, सिद्धार्थ बैंक लगायतमा कार्यरत रहँदा कमिसनमा ऋण मिलाउने, मेसिन खरिदमा कमिसन लिने तथा बैंक ग्यारेन्टी बनाउँदा समेत रकम लिने लगायतका अनियमिततामा मुछिएको आरोप लागेपछि उनी कुनै बैंकमा पनि लामो समय टिक्न नसकेका पात्र हुन् ।
कहीं नटिकेका उनै केसीका कारण प्रभु बैंकले समेत पछिल्लो समय कर्मचारीबीचको खिचातानी तथा व्यावसायिक असफलताको जोखिम झेलिरहेको आरोप लागेको छ।









