किएभ, भदौ २१ गते । युक्रेन युद्ध अन्त्य गर्ने प्रयास स्वरूप अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकफ र जारेड कुशनरले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग ‘ठोस योजना’बारे छलफल गरेका छन् ।
मस्कोमा शनिबार भएको तीन घण्टाभन्दा लामो वार्तापछि क्रेमलिनका वरिष्ठ अधिकारी युरी उशाकोभले छलफल ‘अत्यन्त स्पष्ट’ र रचनात्मक भएको बताए । उनका अनुसार अमेरिकी पक्षले युद्ध अन्त्य गर्ने सम्भावित उपायबारे विभिन्न प्रस्ताव अघि सारेको थियो । तर, तत्काल कुनै ठोस सहमति वा सफलता घोषणा गरिएको छैन ।
ट्रम्पले यसअघि आफ्ना दूत युक्रेन युद्ध अन्त्य गर्ने प्रस्ताव लिएर मस्को र किएभ जान लागेको बताएका थिए । उनले ‘शान्तिका लागि एउटा योजना’ रहेको बताए पनि त्यसको विस्तृत विवरण सार्वजनिक गरेका छैनन् । पुटिनसँगको भेटपछि विटकफ र कुशनर आइतबार युक्रेनको राजधानी किएभतर्फ प्रस्थान गरेका छन् ।
उनिहरूले त्यहाँ राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग युद्ध अन्त्य गर्ने सम्भावित उपायबारे छलफल गर्ने अपेक्षा गरिएको छ । यो विटकफ र कुशनरको युद्ध सुरु भएयता पहिलो किएभ भ्रमण हो । उहाँहरूले यस अघि मस्कोमा पटक(पटक रुसी अधिकारीसँग वार्ता गर्दै आएका छन् । क्रेमलिनका अनुसार पुटिनले वार्ताका क्रममा रुसको सैन्य अवस्थाबारे आफ्नो धारणा प्रस्तुत गर्दै पूर्वी युक्रेनमा बाँकी भू(भाग कब्जा गर्ने लक्ष्यबाट पछि नहट्ने सङ्केत दिएका छन् ।
यसले वार्तामा रुस र युक्रेनबिचको मुख्य मतभेद अझै कायमै रहेको देखाएको छ । अमेरिकी दूतको वार्ताका लागि वातावरण सहज बनाउन रुस र युक्रेनले आफ्ना राजधानीमा तीन दिनसम्म आक्रमण नगर्ने प्रतिबद्धता जनाएका छन् । क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभका अनुसार पुटिनले किभमा तीन दिनसम्म आक्रमण नगर्न रुसी सेनालाई आदेश दिएका छन् ।
जेलेन्स्कीले पनि युक्रेनले मस्कोमाथि आक्रमण नगर्ने बताएका छन् । तर, सीमित आक्रमण विरामका बिच पनि युक्रेनका विभिन्न क्षेत्रमा रुसी आक्रमण जारी रहेको र त्यसबाट सर्वसाधारणको मृत्यु भएको युक्रेनी पक्षले जनाएको छ । रुसले पूर्वी र दक्षिणी युक्रेनको ठूलो भू–भाग कब्जा गरेको छ र आफ्नो सैन्य लक्ष्य पूरा गर्ने अडान दोहोर्याउँदै आएको छ ।
अर्कोतर्फ, युक्रेनले आफ्नो भू–भाग त्याग्ने कुनै पनि सम्झौता स्वीकार नगर्ने अडान राख्दै आएको छ । यही कारण अमेरिकी मध्यस्थतामा वार्ता पुनः सुरु गर्ने प्रयास भए पनि तत्काल युद्धविराम वा शान्ति सम्झौता हुने अवस्था अझै स्पष्ट छैन । अमेरिकी दूतको किएभ भ्रमणलाई भने वासिङ्टनको शान्ति प्रयासलाई पुनःगति दिने महत्वपूर्ण कदमका रूपमा हेरिएको छ । रासस









