लमजुङ । वर्षायामसँगै घटेको अन्नपूर्ण पदमार्गको पर्यटक आगमन पछिल्लो दुई सातायता बढ्न थालेको छ। अघिल्लो साता करिब १५० पर्यटक धारापानी हुँदै प्रवेश गरेकामा पछिल्लो साता उक्त सङ्ख्या बढेर करिब १०० पुगेको छ।
पर्यटकको आगमन बढेसँगै पदमार्ग आसपासका पर्यटन व्यवसायी पनि उत्साहित भएका छन्। वर्षायाम सुरु भएपछि पर्यटक आगमन घटेको थियो।
मुख्य याममा दैनिक ५०० देखि ६०० सम्म पर्यटक आउने गरेकामा वर्षायाममा कतिपय दिन एक-दुई जना र अन्य दिन १०-१५ जनासम्म मात्रै आउने गरेका धारापानीस्थित अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) पर्यटक जाँच तथा सूचना केन्द्रका इन्चार्ज भूपेन्द्र गुरुङले बताए।
भदौमा हालसम्म ६१४ जना पर्यटक धारापानी चेकपोस्ट हुँदै प्रवेश गरेका छन्। तीमध्ये ९९ सार्क मुलुकका र ५१५ जना गैरसार्क मुलुकका छन्। पछिल्लो समय विशेषगरी मनास्लु हिमाल आरोहण तथा पदयात्राका लागि आउने पर्यटक बढेका गुरुङले बताए।
पछिल्लो दुई सातादेखि पर्यटकको आगमन बढिरहेको छ। अहिले विशेषगरी मनास्लु हिमाल चढ्न आउने पर्यटक बढी छन्, उनले भने, अब मुख्य पर्यटन याम सुरु हुँदै गएकाले पर्यटकको सङ्ख्या अझ बढ्ने अपेक्षा छ।ु
धारापानी चेकपोस्टको तथ्यांकअनुसार सन् २०२६ जनवरी १ देखि सेप्टेम्बर ६ सम्म २० हजार ९१७ पर्यटक उक्त प्रवेशबिन्दु हुँदै आएका छन्। लमजुङको बेँसीसहरबाट सुरु हुने अन्नपूर्ण पदमार्ग मनाङ हुँदै थोराङ्ला भञ्ज्याङ पार गरेर मुस्ताङतर्फ पुग्छ।
म्याग्दी र कास्की क्षेत्रसँग जोडिने यो पदमार्ग पाँच जिल्लाको प्राकृतिक तथा सांस्कृतिक विविधता समेट्ने प्रमुख पदयात्रा मार्ग हो। हिमाली दृश्य, हिमाली बस्ती, स्थानीय संस्कृति तथा प्राकृतिक र धार्मिकस्थलको अवलोकन गर्न पाइने भएकाले यो मार्ग पर्यटकको रोजाइमा पर्दै आएको छ।
वर्षायाममा व्यवसाय सुस्ताएपछि केही समय सुनसान बनेका पदमार्ग आसपासका होटल तथा पर्यटन व्यवसायी अहिले पुनःसक्रिय हुन थालेका छन्।
मर्स्याङ्दी गाउँपालिका(४, च्याम्चेका पर्यटन व्यवसायी बाबुराम तामाङले असोज र कात्तिकमा पर्यटकको चाप बढ्ने भएकाले व्यवसायी उत्साहित रहेका बताए। ुअसोज र कात्तिकमा पर्यटकको चाप निकै बढ्छ। उक्त समयमा निकै व्यस्त हुन्छौँ र व्यवसाय पनि राम्रोसँग चल्छ। दैनिक ५० हजार रूपैयाँसम्म कारोबार हुन्छु, उनले भने।
यस वर्ष पर्यटकको आगमन अझ बढ्ने अपेक्षा गरिएको बताउँदै तामाङले पदमार्गको बाटो सुधारमा ध्यान दिनुपर्ने बताए। ुपर्यटक आउनेमा हामी निकै उत्साहित र आशावादी छौँ। बाटो राम्रो र सहज बनाउन सकिए पर्यटकलाई थप सहज हुनुका साथै आगमन पनि बढ्नेछु, उनले भने। पर्यटन व्यवसायी पञ्चबहादुर गुरुङ, खुसीबहादुर तामाङलगायत व्यवसायी पनि मुख्य याममा पर्यटकको आगमन बढ्ने अपेक्षामा छन्।
मौसम अनुकूल बन्दै गएपछि दैनिक ३ सयदेखि ४ सयसम्म पर्यटक पदमार्गमा आउने उनीहरूको अनुमान छ। अन्नपूर्ण पदमार्गमा असोजदेखि मङ्सिरसम्म मुख्य पर्यटकीय याम हो। दसैँ, तिहार तथा त्यसपछिका समयमा पदयात्रीको आगमन बढ्ने भएकाले लामो समयदेखि सुस्ताएको पर्यटन व्यवसायले गति लिने व्यवसायीको विश्वास छ। रासस









