काठमाडौँ, भदौँ २४ । रसुवा बाढी तथा त्यसबाट प्रभावित क्षेत्रमा मानवीय क्षति १ हजार ३ सय ६७ पुगेको छ । गृह मन्त्रालयअन्तर्गत राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले बुधवार बिहान ११ बजे सार्वजनिक गरेको खोज, उद्धार तथा राहतसम्बन्धी अपडेटअनुसार विभिन्न जिल्लाबाट हालसम्म १ हजार ३६७ जनाको मृत्यु भएको विवरण प्राप्त भएको हो ।
प्राधिकरणकाअनुसार सबैभन्दा धेरै शव चितवनमा फेला परेका छन् । चितवनमा ३६३, नुवाकोटमा १९७, रसुवामा १७४, नवलपरासी पश्चिममा २२२, नवलपरासी पूर्वमा २२६, गोरखामा ७५, धादिङमा ७० र तनहुँमा ३८ शव फेला परेका छन् । काठमाडौंमा उपचारका क्रममा रहेका दुई जनाको पनि मृत्यु भएको उल्लेख छ । हालसम्म १०२ वटा शवको सनाखत गरी आफन्तलाई बुझाइएको प्राधिकरणले जनाएको छ । सनाखत हुन बाँकी शवका लागि सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा दुई वटा फोटो र नाता प्रमाणित कागजातसहित नमुना दिन सकिने व्यवस्था गरिएको छ ।
बाढी तथा विपद्का कारण करिव ५ हजार १३२ जना अझै सम्पर्कविहीन रहेको विवरण सार्वजनिक गरिएको छ । रसुवाबाट मात्रै २ हजार ८६० जना सम्पर्कविहीन छन् । त्यसमध्ये रसुवा जिल्लाका १ हजार ३९३, अन्य जिल्लाका १ हजार २८६, नेपाली सेनाका ४५, नेपाल प्रहरीका २५, सशस्त्र प्रहरीका १२, सरकारी कर्मचारी ७३ तथा बैंक तथा वित्तीय संस्थाका २६ कर्मचारी रहेका छन् ।
नुवाकोटबाट १ हजार ७८७ जना सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ । त्यसमध्ये नुवाकोटका ६५१ र रसुवाबाहेक अन्य जिल्लाका १ हजार १३६ जना छन् । यस्तै, करिव ५८७ जना विदेशी पर्यटकसमेत सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ । सनाखत भएका शवको संख्या सम्पर्कविहीनको संख्याबाट घटाइएको प्राधिकरणले जनाएको छ ।










