नीतिगत घोषणाको प्रभाव : नेप्सेमा उछाल, कारोबार रकम साढे ८ अर्ब नजिक



काठमाडौं । सरकारले पूँजी बजार सुधारका लागि अघि सारेको कार्ययोजना सार्वजनिक गरेसँगै सेयर बजार र कारोबार रकम दुबै आक्रामक रुपमा बढेको छ । बुधबार नेप्से परिसूचक ४८.५७ अंकले बढेर २६३३ अंकमा पुगेको छ। कारोबार रकम पनि पछिल्लो दुई महिनाकै उच्च विन्दुमा पुगेको छ।

सबै उपसमूहमा हरियाली

आज नेप्सेका सबै समूहगत सूचकमा वृद्धि देखिएको छ।

जीवन बीमा समूह २.५९ प्रतिशत, निर्जीवन बीमा २.८२ प्रतिशत, लगानी २.५२ प्रतिशत, फाइनान्स २.२३ प्रतिशत, अन्य समूह २.१२ प्रतिशत र बैंकिङ समूह १.९० प्रतिशत बढेको छ।

त्यस्तै जलविद्युत् १.८४ प्रतिशत, विकास बैंक १.७६ प्रतिशत, माइक्रोफाइनान्स १.७५ प्रतिशत, होटल तथा पर्यटन १.४२ प्रतिशत, व्यापार ०.९२ प्रतिशत तथा उत्पादन तथा प्रशोधन समूह ०.७७ प्रतिशत बढेका छन्।

अधिकांश कम्पनीको मूल्य बढ्यो

आज कुल २६५ कम्पनीको सेयर मूल्य बढ्दा १२ कम्पनीको घटेको छ भने एक कम्पनीको मूल्य स्थिर रह्यो।

धौलागिरि लघुवित्तको सेयर मूल्य सबैभन्दा धेरै १४.९६ प्रतिशत बढेको छ। त्यसपछि सिन्धु विकास बैंक ११.०३ प्रतिशत, मल्टिपर्पस फाइनान्स ९.७३ प्रतिशत, जानकी फाइनान्स ८.०६ प्रतिशत र मिडसोलु हाइड्रोपावर ६.६७ प्रतिशत बढेका छन्।

तर केही कम्पनीमा भने बिक्री दबाब देखिएको छ। बोटलर्स नेपाल बालाजुको मूल्य २.९७ प्रतिशत, रिलायन्स स्पिनिङ मिल्स १.९४ प्रतिशत र सर्वोत्तम पेन्ट्स १.६६ प्रतिशत घटेका छन्।

कारोबार रकमका आधारमा रिलायन्स स्पिनिङ मिल्स, शिवम् सिमेन्ट, अपी पावर, एनआरएन इन्फ्रास्ट्रक्चर, लिबर्टी इनर्जी र लक्ष्मी सनराइज बैंक अगाडि रहेका छन्।

अघिल्लो दिनको तुलनामा बजारमा देखिएको यो वृद्धि सरकारले सार्वजनिक गरेको पूँजी बजार सुधारसम्बन्धी कार्ययोजनाप्रति लगानीकर्ताको सकारात्मक प्रतिक्रियाका रूपमा देखिएको छ।

अर्थमन्त्री स्वर्णिम वाग्लेले पूँजीगत लाभकर हाल कायम दरको तुलनामा आधा घटाउनेसहित पूँजी बजार सुधारका विभिन्न योजना सार्वजनिक गरेका थिए। उक्त घोषणापछि बजार खुलेदेखि नै खरिदकर्ताको चाप देखिएको थियो।

बजार बढेसँगै कारोबार रकममा समेत उल्लेख्य सुधार आएको छ। दिनभरमा ८ अर्ब २९ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। अघिल्लो दिन कारोबार रकम ४ अर्ब ६८ करोड रुपैयाँमा सीमित थियो।

आजको कारोबार रकम असार ३० गतेयताकै उच्च हो। यसले बजारमा लगानीकर्ताको सहभागिता र खरिदबिक्री गतिविधि दुवै बढेको संकेत गरेको छ।

प्रकाशित मिति : भाद्र ३०, २०८३ मंगलबार  ३ : ३८ बजे