आप्रवासन नियन्त्रण गर्न सीमा बन्द नगरे युरोपको अस्तित्व नै समाप्त हुनसक्छ : राष्ट्रपति ट्रम्प



काठमाडौँ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासन नियन्त्रण गर्न सीमा बन्द नगरे र अपराधमा संलग्न व्यक्तिहरूलाई देशबाट निष्कासन नगरे युरोपको अस्तित्व नै सङ्कटमा पर्ने चेतावनी दिएका छन्। उनले फ्रान्ससहित युरोपका विभिन्न देशहरूमा देखिएको अशान्ति र समस्याको मुख्य कारण आप्रवासन नै भएको दाबी गरेका छन्।

ह्वाइट हाउस बाहिर पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले फ्रान्सको समस्या शिक्षा वा घरेलु नीतिसँग नभई आप्रवासनसँग सम्बन्धित रहेको बताए। फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनलाई आफ्नो देशको सीमा बन्द गर्न आफूले वर्षौंअघि नै सुझाव दिएको स्मरण गराउँदै उनले आफ्नो देशको संस्कृति, कला र सम्पत्तिप्रति सम्मान नराख्ने मानिसहरूलाई प्रवेश दिँदा फ्रान्सले यस्तो समस्या भोग्नुपरेको टिप्पणी गरे।

युरोपको भविष्यबारे बोल्दै ट्रम्पले सीमा नियन्त्रण र आपराधिक गतिविधिमा संलग्न तथा देशलाई घृणा गर्ने व्यक्तिहरूलाई निष्कासन गर्नु अनिवार्य रहेको जोड दिए। फ्रान्स र इटालीसहित युरोपेली देशहरूमा देखिएको अशान्तिलाई आप्रवासनसँग जोड्दै उनले सीमा बन्द नगरे युरोप समाप्त हुने दाबी गरे।

उता फ्रान्सेली राष्ट्रपति म्याक्रोनले अशान्तिका कारणबारे ऊर्जा सङ्कट र अमेरिकी नीतिको भूराजनीतिक प्रभावतर्फ सङ्केत गरिरहेका बेला ट्रम्पको यो अभिव्यक्ति आएको हो।

यसैबीच, फ्रान्सको बोर्डो सहरमा गम्भीर अशान्ति र व्यापक लुटपाट भएपछि स्थानीय अधिकारीहरूले अभिभावकविहीन नाबालिगहरूका लागि एक सातासम्म रातिको समयमा बाहिर निस्कन प्रतिबन्ध (कर्फ्यु) लगाएका छन्।

प्रकाशित मिति : कार्तिक ३, २०८३ मंगलबार  ७ : ०० बजे