कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलले गरे नवदुर्गा मन्दिरमा पूजाअर्चना



काठमाडौँ। बडादशैँको अन्तिम दिन कोजाग्रत पूर्णिमाको अवसर पारेर राष्ट्रपति रामचन्द्र पौडेलले भक्तपुरस्थित प्रसिद्ध नवदुर्गा मन्दिर पुगी विधिपूर्वक पूजाअर्चना तथा दर्शन गरेका छन्।

प्रथम महिला सविता पौडेलसहित मन्दिर पुगेका राष्ट्रपतिले नवदुर्गा भवानीको दर्शन गर्नुका साथै ऐतिहासिक तलेजु मन्दिरबाट ल्याइएको जमरा, रातो टीका र विशेष प्रसाद ग्रहण गरेका छन्। राष्ट्रप्रमुखले कोजाग्रत पूर्णिमाका दिन भक्तपुरको नवदुर्गा मन्दिरमा पुगेर पूजाअर्चना गर्ने परम्परागत रीतिलाई निरन्तरता दिँदै उनी अपरान्ह भक्तपुर पुगेका हुन्।

मन्दिर परिसरमा मन्दिर व्यवस्थापन समिति, जिल्ला सुरक्षा समितिका अधिकारी, स्थानीय जनप्रतिनिधि र सर्वसाधारणले उनको स्वागत गरेका थिए। सो अवसरमा परम्परागत नवदुर्गा नाच तथा सांस्कृतिक नृत्य प्रस्तुत गरिएको थियो।

राष्ट्रपति पौडेलले व्रह्मायणी, महेश्वरी, कुमारी, वैष्णवी, वाराही, महाकाली, महालक्ष्मी, त्रिपुरासुन्दरी र भद्रकालीलगायत देवगणका मूर्तिहरूको अवलोकन तथा दर्शन गरी पुजारी, मूल नाइके र देवगणहरूलाई परम्परागत दक्षिणा प्रदान गरेका छन्।

प्रकाशित मिति : कार्तिक ८, २०८३ आइतबार  ५ : ५० बजे