काठमाडौं । नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलले आफ्नो ७४ औँ स्थापना दिवसको अवसर पारेर देशभर विभिन्न सामाजिक तथा रचनात्मक कार्यक्रमहरू आयोजना गरेको छ ।
संस्थाका अध्यक्ष मनिष कोईरालाले मंगलवार काठमाडौंको संकटा मन्दिर परिसरमा सरसफाई अभियानको नेतृत्व गर्दै तरुण दललाई युवाहरूको आवाज र जनतासँग जोडिने संस्थाका रूपमा पुनः परिभाषित गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको हो । मंगलवार देशभरका करिव ३५ जिल्लामा सक्रियताका साथ स्थापना दिवस मनाइएको छ ।
कार्यक्रमहरूमा रक्तदान, अस्पतालमा बिरामीलाई फलफूल वितरण, खेलकुद प्रतियोगिता र मन्दिर सरसफाई जस्ता सामाजिक कार्यहरू समावेश छन् । विशेषगरी संस्कृति र परम्परासँग युवा पुस्तालाई जोड्ने उद्देश्यका साथ देशभर मन्दिर सरसफाई अभियानलाई नियमित तालिकामा राखेर अघि बढ्ने निर्णय गरिएको अध्यक्ष कोईरालाले जानकारी दिनुभयो ।
बाँके, वीरगञ्ज र धादिङलगायतका जिल्लाहरूमा मन्दिर सरसफाइ अभियान प्रभावकारी रूपमा सञ्चालन भइरहेको उहाँको भनाइ छ । अध्यक्ष कोईरालाले तरुण दलका बारेमा समाजमा रहेको बुझाइलाई चिर्दै यसलाई युवाहरूको सशक्त आवाज र सामाजिक रूपान्तरणको संवाहक बनाउने दाबी गर्नुभयो ।










