काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहले पार्टीको समानान्तर महाधिवेशन काठमाडौंको खुलामञ्चमा गर्ने भएको छ।
समूहले आगामी मंसिर २१ देखि २३ गतेसम्म महाधिवेशन गर्ने मिति तय गरेको हो।
देउवा समूहले गठन गरेको केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव अमृत कार्कीका अनुसार महाधिवेशनका लागि खुलामञ्च बुक भइसकेको छ। समूहले राष्ट्रियसभा गृह र भृकुटीमण्डपसमेत बुक गरेको छ।
निर्वाचन समितिले तय गरेको कार्यतालिका अनुसार महाधिवेशनको उद्घाटन समारोह, बन्दसत्र र केन्द्रीय सदस्यहरूको मतदान प्रक्रिया खुलामञ्चमै सञ्चालन गरिनेछ। यस्तै, पदाधिकारी चयनका लागि हुने मतदान भने राष्ट्रियसभा गृहमा गराइने भएको छ। महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरूका लागि भोजन व्यवस्थापन गर्न भृकुटीमण्डप बुक गरिएको सदस्य सचिव कार्कीले जानकारी दिए।










