तिहार नजिकिएसँगै माटोको भाँडा बनाउन भ्याइनभ्याइ



बाँके । तिहार पर्व नजिकिँदै गर्दा नेपालगञ्जका कुम्हाल बस्तीमा अहिले माटोको भाँडा बनाउन भ्याइनभ्याइ छ। आधुनिकताले हराउँदै गएको माटाको भाँडा बनाउने पुर्ख्यौली पेसालाई जोगाउन यहाँका कुम्हाल समुदायका घरहरूमा अहिले माटो मुछ्ने, चक्र घुमाउने र दियो-पाला सुकाउने कामको व्यस्तता देखिन्छ।

वर्षभरि सुनसानजस्तै बन्ने यो समुदायमा चाडपर्वको आगमनसँगै रौनक र व्यस्तता एकाएक बढेको नेपालगञ्ज उपमहानगरपालिका-१३ का रमेश कुम्हालले बताए। उनका अनुसार तिहार पर्व नजिकिँदै गर्दा नेपालगञ्जका कुम्हाल बस्तीमा अहिले बेग्लै चहलपहल छाएको छ।

समय फेरिएसँगै घरगृहस्थीमा स्टिल, प्लास्टिक र आल्मुनियमका भाँडाकुँडाको प्रयोग अत्यधिक बढेको छ। यसले गर्दा माटाका भाँडा बनाउने पेसा संकटतर्फ धकेलिँदै गएको छ। तर, तिहार र छठजस्ता पर्वमा मात्रै माटाका भाँडाको माग हुने गरेकाले पुर्ख्यौली पेसालाई निरन्तरता दिँदै आएका छौँ, रमेशले भने।

हिन्दू संस्कृतिमा तिहारको दीपमालिका र छठको पूजामा माटाका दियो तथा भाँडाको प्रयोग अनिवार्य मानिन्छ। विद्युतीय झिलीमिली बत्तीको बाढी आए पनि माटोको दियोले बाल्ने उज्यालोको सांस्कृतिक मान्यता र पवित्रता फरक हुन्छ। यही धार्मिक तथा सांस्कृतिक आस्थाका कारण तिहार र छठमा माटाका सामग्रीको माग उच्च हुने गरेको उनको भनाइ छ।

आधुनिक युगमा यो पेसाबाट मात्रै परिवारको जीविकोपार्जन गर्न निकै कठिन बन्दै गएको छ। युवापुस्ता विदेश पलायन हुने वा अन्य पेसातिर लाग्ने क्रम बढेसँगै परम्परागत पेसा संकटमा परेको रमेशको बुझाइ छ। तर पनि पुर्खाको चिनो र संस्कृतिलाई छाड्न नसकेकाले यसलाई निरन्तरता दिँदै आइएको उनले बताए।

चाडपर्वका बेला सबैभन्दा बढी माग दियो र पालाको हुन्छ, माग धान्नकै लागि कुम्हाल परिवारहरू रातदिन नभनी खटिएका छन्, नेपालगञ्ज-१३ का दीपक कुम्हालले भने, अहिले घैँटा, दियो, पाला र भुर्कीलगायतका सामग्री तीव्रगतिमा तयार पारिरहेका छन् ।

तिहारमा मागअनुसार दियो पुर्‍याउन कठिन हुने भएकाले धेरै पहिलेदेखि नै उत्पादन सुरु गरेको उनको भनाइ छ। बजारमा एउटा दियो एक रूपैयाँमा बिक्री हुने गरेको छ। गत वर्षको तिहारमा मात्रै ३० हजारभन्दा बढी दियो बिक्री गरेको दीपकले बताए

दसैँ र तिहारको समयमा नेपालगञ्जका मुख्य व्यापारिक तथा व्यस्त क्षेत्रमा माटाका भाँडा किन्नेको भीड लाग्ने गर्छ। विशेषगरी त्रिभुवनचोक, सदरलाइन, त्रिवेणी मोड र धम्बोझीचोकमा माटाका भाँडाको कारोबार र चहलपहल उच्च हुने गरेको नेपालगञ्जका उपभोक्ता अधिकारकर्मी प्रभातकुमार ठकुरीले बताए। रासस

प्रकाशित मिति : कार्तिक १८, २०८३ बुधबार  २ : २१ बजे