काठमाडौं। नेपाल प्रिमियर लिग ‘एनपीएल’ क्रिकेटको इलिमिनेटर खेलमा आज काठमान्डु गोर्खाज र चितवन राइनोज आमनेसामने हुँदैछन्।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा हुने यो महत्त्वपूर्ण भिडन्त अपराह्न ४:३० बजे सुरु हुनेछ।
लिग चरणको अंकतालिकामा तेस्रो स्थानमा रहेको काठमान्डु र चौथो स्थानमा रहेको चितवनबीचको यो खेल दुवै टोलीका लागि ‘गर या मर’ को अवस्थामा रहेको छ। आजको खेलमा पराजित हुने टोली प्रतियोगिताबाट बाहिरिनेछ भने विजेता टोलीले बिहीबार हुने दोस्रो क्वालिफायरमा आफ्नो स्थान सुरक्षित गर्नेछ।
इलिमिनेटरको विजेताले फाइनल प्रवेशका लागि पहिलो क्वालिफायरमा पराजित सुदूरपश्चिम रोयल्ससँग प्रतिस्पर्धा गर्नेछ।










