काठमाडौं, मंसिर ७ । प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल र भारतबीचको सम्बन्ध पारस्परिक सम्मान, अटल विश्वास र अविच्छिन्न सद्भावमा आधारित रहेको बताएका छन् । उनले दुई देशबीचको ऐतिहासिक सम्बन्धलाई समयअनुकूल थप सुदृढ बनाउँदै आपसी सहकार्य र साझेदारी विस्तार गर्नुपर्नेमा जोड दिएका छन् ।
प्रधानमन्त्री पद सम्हालेपछि आफ्नो पहिलो द्विपक्षीय भारत भ्रमणका क्रममा भारतीय समकक्षी नरेन्द्र मोदीसँग सोमबार नयाँदिल्लीमा आयोजित संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले यस्तो बताएका हुन् ।
भगवान् पशुपतिनाथ, माता जानकी र करुणामय मच्छिन्द्रनाथको आशीर्वाद तथा नेपाली जनताको प्रेम, स्नेह र सद्भाव लिएर भारतको राजकीय भ्रमणमा आएको उल्लेख गर्दै उनले न्यानो आतिथ्य र निमन्त्रणाका लागि भारतीय प्रधानमन्त्री मोदीप्रति आभार व्यक्त गरे ।
उनले नेपाल–भारत सम्बन्धको केन्द्रमा दुवै देशका जनता रहेको उल्लेख गर्दै दुई देशबीचको आत्मीय सम्बन्धलाई शब्दमा सीमित गर्न नसकिने बताए ।
‘नेपाल र भारतबीचको सम्बन्ध हिमालझैँ अटल र महासागरझैँ विशाल छ । यो यस्तो आत्मीय निकटता हो, जसलाई शब्दको सीमिततामा बाँध्न सकिँदैन,’ प्रधानमन्त्री शाहले भने ।
भारतलाई नेपालको विश्वसनीय छिमेकीका रूपमा चित्रण गर्दै उनले प्राकृतिक प्रकोप तथा विपद्का कठिन समयमा भारतले अग्रपङ्क्तिमा रहेर सहयोग गर्दै आएको बताए । यसका लागि भारत सरकार र भारतीय जनताप्रति उनले कृतज्ञता व्यक्त गरे ।
प्रधानमन्त्री शाहले नेपाल र भारतबीच भर्खरै सम्पन्न प्रतिनिधिमण्डलस्तरीय वार्ताले दुई देशको शताब्दीयौँ पुरानो ऐतिहासिक सम्बन्धलाई थप सुदृढ र समयसापेक्ष बनाउने दिशामा महत्त्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गरे ।
उनका अनुसार वार्तामा द्विपक्षीय सम्बन्धका बहुआयामिक पक्षमा सार्थक र दूरगामी छलफल भएको छ । साथै, नेपाल–भारत सहकार्यका विभिन्न क्षेत्रमा महत्त्वपूर्ण साझेदारीका सहमति हुनुका साथै विभिन्न परियोजनाको उद्घाटन र शिलान्याससमेत गरिएको छ ।
प्रधानमन्त्री शाहले वार्ताका क्रममा भएका समझदारी र अघि बढाइएका परियोजनाको वास्तविक प्रतिफल दुवै देशको समृद्धिका रूपमा देखिनुपर्नेमा जोड दिए ।
‘आज हामीले गरेका समझदारी र अघि बढाएका परियोजनाहरूको प्रतिफल समृद्धिका रूपमा देखिनुपर्छ,’ उनले भने ।
दुई देशबीच भएका ऐतिहासिक उपलब्धि र आगामी सहकार्यका योजनाबारे संयुक्त दृष्टिकोणपत्र ९जोइन्ट भिजन डकुमेन्ट० तथा साझा उपलब्धिसम्बन्धी संयुक्त प्रेस विज्ञप्तिमार्फत विस्तृत जानकारी गराइने पनि उनले बताए ।
यस अवसरमा प्रधानमन्त्री शाहले भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको औपचारिक निमन्त्रणा दिएका छन् । साथै, भारतका जनतालाई पनि हिमालयको काखमा अवस्थित नेपालको भ्रमण गर्न आग्रह गरेका छन् ।
उनले मुक्तिनाथ, पशुपतिनाथ, माता जानकी, जीवित देवी कुमारी तथा भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीलगायत धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्त्वका स्थलहरूको भ्रमण गर्न भारतीय जनतालाई निमन्त्रणा दिए ।
सम्बोधनको अन्त्यमा प्रधानमन्त्री शाहले नेपाल–भारत मित्रता अझ प्रगाढ, विश्वासपूर्ण र समृद्धिमुखी हुनुपर्ने धारणा व्यक्त गरे ।
‘नेपाल र भारतबीचको मित्रता यस्तो होस्, जहाँ विश्वास हिमालझैँ होस्, सहकार्य नदीझैँ अविरल बगोस् र दुवै राष्ट्रको समृद्धि हाम्रो साझा आकाशमुनि फक्रियोस्,’ उनले भने ।
उनले दुवै देश र जनताको सुख, शान्ति तथा समृद्धिको कामनासहित आफ्नो सम्बोधन टुंग्याएका थिए ।










