सुनकोशी–मरिण डाइभर्सन आयोजना : सात दिनभित्र ठेक्का रद्ध गरिएका कागजात उपलब्ध गराउन निर्देशन



काठमाडौं । संसदको सार्वजनिक लेखा समितिले सुनकोशी–मरिण डाइभर्सन आयोजनाको ठेक्का रद्ध गरिएको विषयसँग सम्बन्धित सम्पूर्ण कागजात सात दिनभित्र उपलब्ध गराउन निर्देशन दिएको छ ।

समितिले यस विषयमा जलस्रोत तथा सिंचाई विभागका महानिर्देशक दिनेश रजौरिया, ऊर्जा मन्त्रालयका अधिकारीलगायतसँग छलफल गरेपछि यस्तो निर्देशन दिएको हो ।

समिति सभापति भरतबहादुर खड्काले सम्बन्धित निकायलाई सात दिनभित्र आवश्यक कागजात उपलब्ध गराउन निर्देशन दिँदै कागजात प्राप्त भएपछि अध्ययन गरेर थप छलफल अघि बढाइने बताए ।

टेन्डरका सबै प्रक्रिया पूरा भइसकेको अवस्थामा अन्तिम समयमा रद्द गरिएपछि परेको उजुरीमाथि समितिले आजको बैठकमा छलफल थालेको हो ।

प्रकाशित मिति : मंसिर ८, २०८३ मंगलबार  ११ : ५६ बजे