कांग्रेसलाई प्रश्न गर्ने होइन, उत्तर दिने पार्टी बनाउनुपर्छ : केन्द्रीय सदस्य रिजाल



काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नीलकण्ठ रिजालले पार्टी अब प्रश्न उठाउने भूमिकाबाट माथि उठेर पार्टीका नेता, कार्यकर्ता र जनताले उठाएका प्रश्नको जवाफ दिने अवस्थामा पुग्नुपर्ने बताएका छन्।

नेपाली कांग्रेस केन्द्रीय समितिको बैठकमा आफ्नो धारणा राख्दै रिजालले पार्टीभित्र विगतमा देखिएका कमजोरी र विसंगतिविरुद्ध प्रश्न उठाउँदै आएका नेताहरू अहिले पार्टी सञ्चालनको जिम्मेवारीमा रहेकाले व्यवहारबाटै परिवर्तनको अनुभूति गराउनुपर्ने बताएका हुन्।

उनले भातृ संस्थाको महाधिवेशन र टिकट वितरणमा न्याय हुने अवस्था सिर्जना गरेर व्यवहारबाटै परिवर्तनको अनुभूति गराउनुपर्ने बताए।

‘अब हामी पार्टी संगठनका लागि जिल्ला र गाउँमा जाँदा जनता र पार्टीका क्रियाशील साथीहरूबाट सकेसम्म प्रश्नरहित तर उत्तरसहित भएर जानुपर्छ,’ रिजालले बैठकमा भने। केन्द्रीय समितिको बैठकले यस्ता प्रश्नको समाधानसहित निर्णय गर्नुपर्ने उनको भनाइ छ।

रिजालले पार्टीका कार्यक्रम र गतिविधि भाषण, नीति तथा सिद्धान्तमा मात्र सीमित नभई व्यवहारमा पनि देखिनुपर्ने बताएका छन्। उनले नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल, नेपाल दलित संघलगायतका भातृ संस्थाका कार्यसमितिलाई छिट्टै पूर्णता दिन र नेपाल महिला संघसहित अन्य भातृ संस्थाका महाधिवेशनका लागि स्पष्ट समयसीमा तोक्न माग गरे।

त्यस्तै, जिल्ला र प्रदेश अधिवेशनका मिति अविलम्ब तोक्नुपर्ने उनको धारणा छ। लामो समयदेखि पार्टीमा सक्रिय रहे पनि प्राविधिक कारणले जिम्मेवारी नपाएका नेताकार्यकर्तालाई क्रमशः जिम्मेवारी दिनुपर्ने उनले बताएका छन्।

पार्टी छाडेर अन्यत्र गएका साथीहरूलाई पूर्वाग्रहरहित ढंगले मूलधारमा फर्काउने पहल गर्नुपर्नेमा पनि उनले जोड दिएका छन्।

पार्टीका वडा, पालिका, क्षेत्र, जिल्ला, प्रदेश र केन्द्र तहसम्म देखिएको चरम गुटबन्दी अन्त्य गर्न केन्द्रबाटै आवश्यक र इमानदार कदम चाल्नुपर्ने रिजालको भनाइ छ।

उनले पार्टीमा जिम्मेवारी दिँदा र निर्वाचनमा टिकट वितरण गर्दा आर्थिक हैसियतलाई आधार बनाउने प्रवृत्ति निरुत्साहित गर्नुपर्ने बताए। सामान्य आर्थिक अवस्था भएका व्यक्तिले पनि कांग्रेसको राजनीतिमा स्थापित हुन सक्ने वातावरण निर्माण गर्नुपर्ने उनको सुझाव छ।

आगामी स्थानीय निर्वाचनको तयारी अहिलेदेखि नै सुरु गर्नुपर्ने र उम्मेदवार छनोटमा केन्द्रबाट टिकट वितरण गर्ने परम्पराको अन्त्य गरी स्थानीय तहका नेता तथा कार्यकर्ताबाटै पारदर्शी विधिमार्फत उम्मेदवार छनोट गर्ने व्यवस्था गर्नुपर्ने उनले बताए।

प्रकाशित मिति : मंसिर ११, २०८३ शुक्रबार  ३ : ५६ बजे