सरकार अपराधीलाई पक्राउ गर्नको साटो विज्ञप्तिबाजीमा उत्रियो : रामहरि खतिवडा



प्रतिनिसभाको आजको बैठकको प्रारम्भमै नेपाली कांग्रेसका रामहरि खतिवडाले समय मागेर बोल्दै गृह मन्त्रालयबाट शुक्रबार जारी प्रेस विज्ञप्तिबारे सदनको ध्यानाकर्षण गराए ।

उनले भने, “अपराधीलाई पक्राउ गर्न प्रेस विज्ञप्ति जारी गर्ने परिपाटी गलत छ, त्यसलाई सच्याइनुपर्छ, हरेक घटनाका अपराधीलाई पक्राउ गर्न प्रेस विज्ञप्ति नै जारी गर्नुपर्ने स्थिति आउन दिन हुन्न, यो ठीक पनि होइन ।”

प्रेस विज्ञप्ति निकालेर अपराधी खोजी गर्नु चिन्ताको विषय बनेको उल्लेख गर्दै उनले गृहमन्त्रीको मौखिक निर्देशन मातहतका निकायले बेवास्ता गरेको त होइन भनी प्रश्न गरे ।

उनले गृहमन्त्रालयले अपराधीलाई पक्राउ गर्नको साटो विज्ञप्तिबाजी गरेर मिडियामा सस्तो लोकप्रियता कमाउन लागि परेको उल्लेख गरे । सांसद खतिवडाले उक्त विषयमा सभामुखबाट रुलिङको माग गरे।
–––

प्रकाशित मिति : माघ ७, २०७९ शनिबार  २ : ०७ बजे