२०७९ माघ १६, तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कृषि, पर्यटन र जलस्रोतको विकासले मात्र मुलुक समृद्ध बन्ने बताएका छन् ।
शहीद दिवसका अवसरमा तनहुँको व्यास नगरपालिकाद्वारा आज आयोजित ‘अल्ट्रा म्याराथन’ को शुभारम्भ गर्दै उनले आर्थिक समृद्धि हासिल गर्न राष्ट्रिय सहमति कायम गरेर अगाडि बढ्नुपर्छ भने ।
“राष्ट्रको उन्नति र समृद्धिका लागि राष्ट्रिय एकताको खाँचो छ”, वरिष्ठ नेता पौडेलले भने, “राष्ट्रिय एकताको कुरा गर्दा कसैलाई मेरो भाग खोसिन लाग्यो की भन्ने लागेको छ तर त्यस्तो होइन ।”
गाउँका जनतालाई गाउँमै रोजगारी र आम्दानी सिर्जना गर्नुपर्ने जनाउँदै वरिष्ठ नेता पौडेलले पर्यटन प्रवर्द्धनबाट त्यो सम्भव रहेको बताए ।
कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य अशोककुमार श्रेष्ठ र जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले म्याराथनले दुई ऐतिहासिक गाउँ जोड्ने प्रयास गरेको बताए ।
व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले खेलकुदको माध्यमबाट पर्यटन प्रवर्द्धन गर्ने उद्देश्य राखिएको बताए । व्यास नगरपालिका(५ मानुङदेखि व्यास नगरपालिका(८ पुलिमराङसम्म ४४ किमि दूरीको म्याराथनमा ५७ धावकको सहभागिता रहेको छ ।
प्रतियोगितामा प्रथम हुनेलाई नगद रु ६१ हजार, द्वितीय हुनेलाई रु ५१ हजार, तृतीय हुनेलाई रु ३८ हजार र सान्त्वना हुने तीन जनालाई जनही रु १२ हजार पाँच सय प्रदान गरिनेछ ।
म्याराथन मानहुँकोट सिद्ध मार्ग हुँदै अलैचे(चापाघाट(अनसन चौतारी(सफासडक(भोर्लेटार चोक(बैरेनी(दुम्सी(कलेस्ती(पाथ्रा(सत्रसय(बानियाँ डिही(बर्लाची(सोतीवेशी(बगुवा रिस्ती(बाहुन पोखरा हुँदै पुलिमराङमा पुगेर समाप्त हुनेछ ।










