रवि लामिछानेले भेटे प्रधानमन्त्री प्रचण्ड, गृह नपाए सरकार छाड्ने धम्की



२०७९ माघ १७,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा निवर्तमान उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेर गृह मन्त्रालय नपाए सरकार छाड्ने धम्की दिएका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बिहान भेटघाट गरेर गठबन्धन निर्माण गर्दा गृह मन्त्रालय राष्ट्रिय स्वतन्त्र पार्टीका भागमा परेकाले पुनः पाउनु पर्ने माग गर्दै यदि नपाएमा सरकार छाड्ने धम्की दिएको स्रोतले जनाएको छ ।

प्रधानमन्त्री प्रचण्डले भने गृह मन्त्रालय होइन अन्य कुनै मन्त्रालय दिन सकिने बताएपछि उनी रिसाएर बालुवाटारबाट बाहिरिएको स्रोतले जनाएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासले लामिछानेको नागरिकता बदर हुने फैसला सुनाएपछि उनी शुक्रबार सांसद, उपप्रधान तथा गृहमन्त्री र पार्टी सभापतिबाट पदमुक्त भएका थिए ।

त्यसपछि रविले आइतबार पुनः जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पुगेर नयाँ नागरिकता लिएका छन् । नयाँ नागरिकता लिएपछि गैरसांसदलाई ६ महिना मन्त्री बनाउन सकिने संवैधानिक प्रावधानका आधारमा गृहमन्त्री बनाउन प्रधानमन्त्री प्रचण्डलाई रविले दबाब दिँदै आएका छन् ।

प्रकाशित मिति : माघ १७, २०७९ मंगलबार  १ : ४५ बजे