सर्वोच्चले भन्योः पब्जी खेलमाथि प्रतिबन्ध नलगाउ



काठमाडौं वैशाख, ६–
सर्वोच्च अदालतले पब्जी खेलमाथि प्रतिबन्ध लगाउने सरकारी निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । शुक्रबार न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले इन्टरनेटमा खेलिने खेल पब्जीमाथि प्रतिबन्ध लगाउने नेपाल दूरसञ्चार प्राधिकरणको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिँदै प्रतिबन्ध लगाउनुको कारण १५ दिनभित्र पेश गर्न आदेश दिएको छ ।

अधिवक्ता प्रवीण सुवेदीसहित ६ जनाले पब्जी प्रतिबन्ध लगाउँदा इन्टरनेट प्रयोग र अभिव्यक्ति स्वतन्त्रताको मौलिक अधिकार हनन भएको भन्दै त्यसलाई बदर गर्न माग गर्दै वैशाख ३ गते सर्वोच्चमा रिट दायर गरेका थिए ।

शुक्रबार रिट निवेदकको पक्षबाट अधिवक्ताहरु प्रविण सुवेदी, विकास थापा, अनुराग सुवेदी, आवेश अधिकारी र रितेश पौडेलले बहस गरेका थिए ।

नेपाल दूरसञ्चार प्राधिकरणले पब्जी खेल्दा विकृति देखिएको भन्दै यसलाई प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।

प्रकाशित मिति : बैशाख ६, २०७६ शुक्रबार  ९ : ३१ बजे