काठमाडौँ, १० फागुन । राष्ट्रपति निर्वाचन नजिकिँदै गर्दा चीनको सक्रियता बढेको छ । बुधबार नेपालका लागि चिनियाँ राजदूत चेन सङले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन् ।
चिनियाँ राजदूत सङ प्रधानमन्त्रीलाई भेट्न प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । भेटमा राजदूत सङले राष्ट्रपति निर्वाचनको विषयमा चासो राखेका थिए ।
चिनियाँ राजदूत बालुवाटारबाट निस्के लगत्तै प्रधानमन्त्रीलाई भेट्न एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटार पुगेका छन् । राष्ट्रपति निर्वाचनको उम्मेदवारबारे छलफल गर्न एमाले अध्यक्ष ओली बालुवाटार पुगेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
सरकारले २६ पुसमा विश्वासको मत लिएदेखि हालसम्म प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच १२ पटक भन्दा बढी भेटवार्ता भईसकेको छ । तर, भेटमा प्रमुख एजेन्डा रहेको राष्ट्रपतिमा सहमति खोज्ने प्रयासमा भने ठोस प्रगति हुन सकेको छैन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल यही फागुन २८ गते सकिदै छ । नयाँ राष्ट्रपति चुन्न फागुन २५ गते निर्वाचनको मिति तोकिएको छ । । त्यसका लागि फागुन १३ गते मनोनयन दर्ताको कार्यक्रम छ । निर्वाचनको तयारी जारी राखेको निर्वाचन आयोगले आजै मतदाता नामावली सार्वजनिक गर्ने कार्यतालिका रहेको छ ।










