आर्थिक संकटको समयमा पुर्बलडाकुलाई रकम दिने निर्णय तत्काल फिर्ता होस : प्रदीप पौडेल



काठमाडौं, १५ वैशाख । नेपाली कांग्रेसका सांसद एबं युबा नेता प्रदीप पौडेलले आर्थिक संकटको समयमा पनि तत्कालीन माओवादी लडाकुलाई रकम दिने सरकारको निर्णयप्रति गलत भएको बताएका छन् ।

उनले संसद्लाई समेत जानकारी नगराई भित्र भित्रै आर्थिक सहायता दिने कार्यविधि बनाइएकोमा सामाजिक सञ्जाल फेसबुक मार्फत असहमति जनाउदै सरकारको काम कारवाही अपारदर्शी नभएको र सरकारले प्राथमिकता छनोट गर्न नसकेको उल्लेख गरेका छन् । ।

पौडेलले भनेका छन् , ‘एकातिर, केही सूचकाङ्कमा मौसमी सहजता देखिए पनि आर्थिक संकट सुधार आइनसकेको विज्ञहरूले बताइरहेका छन् । अर्कोतिर, सरकारले वित्तीय व्यवस्थापन गर्न नसकेको, साधारण खर्च पनि धान्न नसकेर पेन्सन समेत दिन नसकेको विषय सार्वजनिक भइरहेका छन् । यस्तो विषम परिस्थितिमा समेत अनावश्यक निर्णय गर्ने, जनताका आवश्यकता छुट्याउन नसक्ने, र आर्थिक समस्या समाधान गर्न दीर्घकालीन योजना बनाउन नसक्नुले सरकारको अक्षमताका संकेत देखाउन थालिसकेको छ ।’

उनले अहिले चुलिँदै गएको आर्थिक संकटलाई तत्काल हल गर्दै दीर्घकालीन समाधान खोज्नका लागि सबै सरोकार निकायसँग व्यापक छलफल र सहकार्य गरेर आम जनतामा बढेको निराशा र आक्रोशलाई सम्बोधन गर्न सरकारलाई आग्रह गरेका छन् ।

प्रकाशित मिति : बैशाख १५, २०८० शुक्रबार  १२ : २७ बजे