पाकिस्तानका पूर्वप्रधानमन्त्री खानद्वारा देशव्यापी विरोध प्रदर्शनको आह्वान



लाहोर, ३१ वैशाख (रासस/सिन्ह्वा) : पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले आइतबार देशव्यापी ‘स्वतन्त्रता’ प्रदर्शनका लागि आह्वान गरेका छन् ।

यसै साता आफ्नो संक्षिप्त गिरफ्तारी र हिरासतले देशव्यापी अशान्ति भएपछि अदालतको आदेशमा उहाँलाई रिहा गरिएको थियो ।

गत वर्ष अप्रिलमा सत्ताबाट हटेपछि दर्जनौं कानुनी मुद्दामा मुछिएका एक समयका क्रिकेट सुपरस्टारको पक्राउलाई सर्वोच्च अदालतले ‘गैरकानुनी’ ठहर गरेपछि उहालाईँ शुक्रबार जमानतमा रिहा गरिएको थियो ।

गिरफ्तारीबाट आक्रोशित समर्थकहरूले सरकारी भवनहरूमा आगजनी गरेका थिए भने सडकहरू अवरुद्ध गरेका थिए । उनीहरूले सेनाको सम्पत्तिमा क्षतिसमेत पु¥याएका थिए ।

“स्वतन्त्रता सजिलै आउँदैन । हामीले त्यसलाई खोस्नु पर्छ । यसका लागि सबैले त्याग गर्नुपर्छ,” शनिबार राति युट्युबमा प्रसारण गरिएको सम्बोधनमा उनले भने ।

उनले समर्थकहरूलाई आइतबार साँझ स्थानीय समयानुसार ५ः०० बजे एक घण्टाका लागि देशभरका ‘आफ्ना सडक र गाउँहरूको चोकमा’ विरोध प्रदर्शन गर्न आह्वान गरेका थिए ।

प्रकाशित मिति : बैशाख ३१, २०८० आईतबार  ८ : ५७ बजे