बेइजिङ, १ जेठ (रासस/एएफपी) : चीनले जासुसी गरेको आरोपमा ७८ वर्षीय एक अमेरिकी नागरिकलाई आजीवन कारावासको सजाय सुनाएको छ ।
अमेरिकी पासपोर्ट धारक जोन शिङ्ग–वान लेउङ्गलाई जेल सजाय तोकिएपछि बेइजिङ र वासिङ्टनबीचको सम्बन्धलाई थप तनाव उत्पन्न हुने सम्भावना बढेको छ ।
चीनको पूर्वी सहर सुझोउस्थित एउटा अदालतले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “हङकङका स्थायी बासिन्दा लेउङलाई जासुसीगरेको अभियोगमा दोषी ठहर गरिएको छ । उहाँलाई आजीवन कारावासको सजाय सुनाइएको छ र आजीवन राजनीतिक अधिकारबाट बञ्चित गरिएको छ ।
सन् २०२१ को अप्रिलमा सुझोउका अधिकारीहरूले ७८ वर्षीय लेउङविरुद्ध “कानुनी कदम चालेका’ विज्ञप्तिमा जनाइएकोे छ ।
पक्राउ पर्दा लेउङ कहाँ बस्दै आउनुभएको थियो भन्ने स्पष्ट भइसकेको छैन ।














