काठमाडौं, २० जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो भारत भ्रमण विगतको भन्दा फरक र परिणामुखी भएको बताएका छन् । चार दिने भारत भ्रमण पुरा गरी स्वदेश फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गरी प्रधानमन्त्रीले यस्तो बताएका हुन् ।
‘विगतका भ्रमणभन्दा फरक पाएको छु । सारभूत रुपमा परिणामुखी रहेको छ । र, भविष्यका लागि स्पष्ट मार्गदर्शन समेत भएको छ’, प्रधानमन्त्रीको भनाइ छ । उनले विगतमा भारतसँगको सम्बन्धमा विश्वासको संकटजस्तो देखिए पनि अहिलेको भ्रममणले विश्वासको नयाँ वातावरण भनेको बताए ।
उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सीमा विवादको सन्दर्भमा आफैंले चासो देखाएको बताए।प्रचण्डले आफूले सीमा विवादमा पहल नभए नेपाल–भारतबीचको सम्बन्ध सहज नरहने बताएको स्मरण गराए ।
‘सीमा सम्बन्धी कुरा हामी सबैको चासोको विषय हो । मैले यो पटक समाधान खोज्नै पर्छ नत्र नेपाल भारतबीचको सम्बन्ध सहज रहँदैन भनेका छौं । मोदीजीले नेपाल भारतको सम्बन्ध हिमालयको उचाईसम्म पुर्याउन पर्छ भन्ने शब्दको प्रयोग गर्नुभयो,’– उनले भने ।










