बजेटको परिणाममुखी बनाउन कार्यान्वयन जरुरी : गगन थापा



जेष्ठ २८ काठमाडौं । सांसद गगनकुमार थापाले बजेटको प्रभावकारी कार्यान्वयनमा ध्यान दिन सरकारको ध्यानाकर्षण गराएका छन् ।प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्यायको वार्षिक अनुमानमाथिको सामान्य छलफलका क्रममा उनले बजेटमा समेटिएका कार्यक्रमलाई परिणाममुखी बनाउन कार्यान्वयन प्रभावकारी बनाउन जरुरी रहेको उल्लेख गरे ।

नेपाली कांग्रेसका महामन्त्री समेत रहनुभएका सांसद थापाले बजेटको आकार ठूलो छ भन्ने वास्तविकतालाई स्वीकार गरी कार्यान्वयनमा गएको खण्डमा परिणाम निस्कनेमा विश्वास व्यक्त गरे । “बजेटको आकार ठूलो छ, यो वास्तविक छैन यसलाई ख्याल गरे कार्यान्वयन गरेर परिणाम निकाल्न सक्नुपर्छ”, उनले भने “बजेट कार्यान्वयन गरेर परिणाम ल्याउन अवास्तविक छ भन्ने कुरालाई स्वीकार गर्नुपर्छ ।”

सांसद थापाले जनअपेक्षालाई सम्बोधन गर्ने र अर्थतन्त्रमा देखिएका अप्ठ्यारा हटाइ जनतामा देखिएका निराशालाई आशामा परिणत गर्नेगरी बजेटले लिएको लक्ष्यलाई परिणाममुखी बनाउन ध्यान दिनुपर्ने खाँचो औँल्याए । उनले भने, “अर्थमन्त्री आफै पनि यति ठूलो बजेटको आकार ल्याउन चाहनुहुन्नथ्यो । किनकी यो अवास्तविक छ भन्ने कुरा पक्कै पनि उहाँले बुझ्नुभएको छ । यहाँ प्रस्तुत भइसकेपछि बचाउ पनि गर्नुप¥यो । अवास्तविक छ भन्नेकुरालाई मनमा लागे पनि होइन भनेर भन्नुपर्ने स्थिति हुन्छ ।”

अर्थमन्त्रीले बजेट भाषण टुङ्ग्याउने क्रममा बजेट कार्यान्वयनमा भएमा समग्रमा ६ प्रतिशत आर्थिक वृद्धि, मुद्रास्फिति ६ दशमलव ५ प्रतिशतमा सीमित हुन्छ भन्ने अनुमान गरेको स्मरण गर्दै सांसद थापाले बजेट कार्यान्वयनबाट लगानीको विस्तार, रोजगारीको अवसरमा वृद्धि, अर्गतन्त्र सुधारका साथै वित्तीय अनुशासन कायम भई राजस्वको लक्ष्य पूरा गर्नुपर्ने बताए ।

प्रकाशित मिति : जेष्ठ २८, २०८० आइतबार  ४ : ४१ बजे