कोशी सरकार विवाद : आजबाट सर्वोच्च अदालतको पूर्ण इजलासमा सुनुवाइ



काठमाडौं । कोशी प्रदेश सरकारविरुद्धको रिटमा सर्वोच्च अदालतको पूर्ण इजलासमा आज बाट सुनुवाइ हुने भएको छ । न्यायाधीशद्वय सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको सोमबारको इजलासले कोसी सरकारविरुद्ध एमालेका हिक्मतकुमार कार्कीले दायर गरेको रिट पूर्ण इजलासमा पठाउने निर्णय गरेको थियो । त्यससँगै उक्त विषय पूर्ण इजलासमा सुनुवाइ हुने भएको हो ।

असार २२ गते कोशी प्रदेशसभा संसदीय दलका नेता कार्कीले सभामुखको हस्ताक्षर लिएर बहुमत देखाउँदै गठन भएको उद्धव थापा नेतृत्वको सरकारविरुद्ध एमाले निवर्तमान मुख्यमन्त्री कार्कीले रिट दायर गरेका थिए । थापा नेतृत्वमा बनेको सरकार अवैध ठहर गरी त्यसअघिको सरकारलाई काम गर्ने आदेश माग गर्दै कार्कीले रिट दायर गरेका हुन् ।

उक्त रिटमा असार २७ मा न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले थापा नेतृत्वको सरकार कायम रहेको ठहर गरी दीर्घकालीन असर गर्ने निर्णय नगर्न आदेश गरेको थियो । साथै प्रधानको इजलासले निरन्तर सुनुवाइका लागि साउन ७ गतेको मिति तोकेको थियो ।तर, आइतबार हेर्न नमिल्नेमा परेको थियो ।

एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मत कुमार कार्की नेतृत्वको सरकारले प्रदेशसभामा विश्वासको मत पाउन असफल भएपछि असार १७ गते प्रदेश प्रमुखले बहुमतिय सरकार दाबी गर्न दलहरूलाई आह्वान गरेका थिए । प्रदेश प्रमुख पर्शुराम खापुङले दिएको असार २१ गतेसम्मको समयसीमा भित्र कांग्रेसका कोशी प्रदेशका संसदीय दलका नेता थापाले माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहित ४७ अर्थात् बहुमत सांसदहरूको हस्ताक्षरसहित मुख्यमन्त्री दाबी गरेका थिए । त्यसलाई नै आधार बनाउँदै प्रदेश प्रमुखले थापालाई मन्त्री नियुक्त गरेका थिए ।

प्रकाशित मिति : श्रावण ९, २०८० मंगलबार  ११ : ३८ बजे