आज १ बजे कांग्रेस संसदीय दलको बैठक, सांसद शर्मा पक्राउका विषयमा छलफल हुने



काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले संघीय संसदको बैठकमा अवरोध कायम राखेका बेला सत्तारुढ नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । शुक्रबार (आज) दिउँसो १ बजे संसद भवन नयाँ बानेश्वरस्थित लोत्से हलमा कांग्रेसले बैठक बोलाएको हो ।

बैठकमा जारी संसद अवरुद्ध हटाउने, सदनमा विचाराधीन रहेका विधेयक तथा नयाँ विधेयकका साथै पार्टी केन्द्रीय सदस्यसमेत रहेका सांसद सुनिल शर्मा पक्राउका विषयमा पनि छलफल हुनेछ । साथै, संसदमा पार्टीको भूमिका विषयमा पनि छलफल हुने जनाइएको छ ।

त्यस्तै, जनताका जनजीविकाका मुद्दाबारे डेङ्गु रोगको रोकथाम, आँखा पाक्ने रोगको उपचार, पशुमा लागेको लम्पीस्किन रोग नियन्त्रणबारेमा बैठकमा छलफल हुनेछ । सोही सन्दर्भमा कांग्रेस सभापतिसमेत रहेका संसदीय दलका नेता शेरबहादुर देउवाले बिहीबार पार्टी पदाधिकारीहरूसँग छलफल गरेका थिए ।

प्रकाशित मिति : श्रावण २६, २०८० शुक्रबार  ९ : ०२ बजे