सुन प्रकरणमा सरकारले प्रतिपक्षीको आवाज दबाउन खोजेको एमालेको दाबी



काठमाडौं , २९ साउन । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले क्वीन्टल सुन प्रकरण छानबिनमा सरकारले प्रतिपक्षको आवाज दबाउन खोजेको दाबी गरेको छ ।


आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको केन्द्रीय सचिवालय बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उपमहासचिव प्रदीप ज्ञवालीले सरकारले प्रतिपक्षीको आवाजलाई दबाउन खोजेको दाबी गरेका हुन् ।उनले भने ‘ सरकारले जुन ढंगले छानबिनमा आलटाल गरेर प्रतिपक्षीको आवाज दबाउन खोजिरहेको छ, सांसद पक्राउ गरेर प्रतिशोधपूर्ण बाटोमा अघि बढ्दैछ,। यसमा संलग्न मन्त्रीहरुले राजीनामा दिनु पर्छ भन्ने व्यक्ति र सांसदहरुलाई प्रतिशोधपुर्ण ढंगले थुनामा राख्ने तर्साउने कार्यहरु भइरहेका छन् । जति समय वित्तदै छ त्यती त्यती सरकारको संलग्नतता प्रष्ट भएको छ । ’

सीआईबीले नामै किटान गरेकालाई समेत सरकारले छानबिनको दायरामा नल्याएको उनको दाबी छ ।‘सीआईबीले नाम किटान गरेका छानबिनमा नल्याउने, सरकारी वकिलले नाम हटाएर मुद्दा दायर गर्ने स्थिति छ। यो सबैमा दबाब र प्रभाव प्रष्ट देखिन्छ।’ उनले भने ।सुन प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति बनाउनुपर्ने मागगर्दै आएको एमालले आजसमेत संसद् बैठक अवरुद्ध गरेको छ ।

प्रकाशित मिति : श्रावण २९, २०८० सोमबार  ५ : १६ बजे