भ्रष्टहरूको धम्कीबाट सुशासनको अभियान रोकिदैँन् : उपप्रधानमन्त्री श्रेष्ठ



काठमाडौ , १ भदौ । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारको सुशासन अभियानविरुद्ध भ्रष्टाचार र तस्करका संरक्षकहरूले घेराबन्दी गर्न खोजेको बताएका छन् ।गोरखाको अजिरकोट गाउँपालिका–२ स्थित भच्चेकमा ’भच्चेक आधारभूत अस्पताल’को उद्घाटन गर्दै उपप्रधानमन्त्री श्रेष्ठले ठग, तस्कर र भ्रष्टाचारीका संरक्षकहरुको धम्कीबाट आफू नडराउने भन्दै सुशासनको अभियान कुनै हालतमा नरोक्ने बताए ।


उनले भने, ‘सरकारलाई, मन्त्रीलाई घेराबन्दीमा राख्छौं भनेर कसैले नसोचे हुन्छ। हामी पदका लागि होइन, देश र जनताको सेवा गर्न आएका हौं। जुन दिनसम्म सरकारमा रहन्छौं, यो सुशासनको अभियान रोकिंदैन।’उपप्रधानमन्त्री श्रेष्ठले नागरिकलाई छिटो र चुस्त सेवा दिएर तथा दण्डहीनता अन्त्य गरेर नै सुशासनको थालनी हुने पनि प्रष्ट पारे । अध्यक्ष दीपक देवकोटा तथा उपाध्यक्ष अनिता भुजेलले उदाहणीय नेतृत्वबाट अजिरकोट गाउँपालिकाले विकासमा फड्को मार्दै गएको भन्दै उनले खुशी पनि व्यक्त गरे ।उनले राजनीतिक परिवर्तनलाई सामाजिक–आर्थिक परिवर्तनसँग जोड्नुपर्ने भन्दै त्यसका लागि सामाजिक न्यायसहितको समृद्धि सबै तहका सरकारको प्राथमिकता हुनुपर्ने बताए ।

प्रकाशित मिति : भाद्र १, २०८० शुक्रबार  १२ : ३१ बजे