काठमाडौं, भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले तस्करीको जालो तोड्ने काम नरोकिने बताएका छन् ।मंगलबार काठमाडौंमा आयोजित पार्टीको उपत्यका विशेष प्रदेश समितिले आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले भ्रष्टाचारविरूद्धको अभियान थप तीव्र भएर जाने बताए ।
उनले भने ‘नक्कली भुटानी शरणार्थी प्रकरण, सुन प्रकरण, तस्करीको जालो तोड्ने काम अगाडि बढेको छ । यो यहीँ रोकिनेवाला छैन । भ्रष्टाचारविरूद्धको अभियान थप तीव्र भएर जान्छ। हामीविरूद्ध घेराबन्दी छ, अनेकौं कुप्रचार छ । तर, हामी दृढताका साथ नै अघि बढ्छौँ।’प्रधानमन्त्री दाहालले माओवादी पार्टीलाई रूपान्तरण गरेर मात्रै देश रूपान्तरणको आधार तयार पार्न सकिने बताएका छन् ।उनले भने ‘देश रूपान्तरणको नयाँ संकल्पसहित एउटा अभियानको सुरूवात गरिएको छ। यसलाई हामी थप तीव्रता दिएर अघि बढ्छौँ। त्यसका लागि माओवादी पार्टीको रूपान्तरण अनिवार्य छ । जनतासँग माओवादी अभियानले त्यो रूपान्तरणको सुरूवात गर्नेछ । ’प्रधानमन्त्री दाहालले सरकारले जुन सफलता हासिल गरेको छ, यसबाट कतिपयमा छट्पटी सुरू भएको दाबी समेत गरे ।














