काठमाडौं । चिनियाँ विद्युतीय सवारी नयाँ ब्रान्ड स्काइवेलको ‘एसयूभी ईटी –५’ नेपाल भित्रिएको छ । जी मोटर्स प्रा. लि. ले आधिकारिक बिक्रेताका रूपमा, ‘स्काइवेल’ प्रिमियम ब्रान्डको विद्युतीय एसयूभी ईटी ५ ल्याएको प्रबन्ध निर्देशक कैलाशबाबु गेलालले बताए ।
उच्च प्रविधियुक्त र नेपालमा उपलब्ध मध्ये सर्वाधिक रेन्ज दिने स्काइवेलको विद्युतीय एसयूभी ईटी ५ लाई एक पटकको फुल चार्जमा ६ सय २० किलोमिटर बढी कुदाउन सकिने उनको दाबी छ । गाडिको मूल्य १ करोड ९ लाख तोकिएको छ ।
गेलालले भने, ‘जि मोटर्सको सिस्टर कम्पनी जुन भक्तपुर र इटहरीको लागि एक्सक्लुसिभ डिलरहरु हुने छ जि ईभी नेपाल जि मोटर्स आयातकर्ताको रुपमा रहने छ । ग्राहकहरुको लागि १ करोड ९ लाख मूल्य अफर गरेका छौ । प्रोडक्टको क्यालिटि, विशेषता हेर्ने हो भने अनविटएवल हुने छ । अहिले नेपाली बजारमा उपलब्ध विद्युतिय सवारीमा हामीले पाइरहेका किलोमिटर रेञ्ज बढीमा ५०० छ । हामी एकैचोटी ६०० माथि गैरहेका छौ । यो प्राइज अन्य प्रतिस्पर्धी प्राइज भन्दा स्पेसल प्राइजको रुपमा छ र यो एमआरपी हो । हामी नाडामा बुकिङ गर्ने ग्राहकका लागि अझ एक्सक्युसिभ प्राइज अफर गर्ने छौं ।’
गेलालले काठमाडौंको नक्साल,भक्तपुरको राधेराधे र सुनसरीको इटहरीमा रहेको आफ्नै तीनओटा स्वरुमबाट सेवा प्रदान गर्ने जानकारी दिए । उनले भने, ‘हाल तीन स्थानमा नयाँ डिलरको व्यवस्था गरिसकेका छौ । विराटनगर,नारायणघाट र ललितपुरमा डिलर नियुक्ति गरेका छौ । र आजबाटै हामीले औपचारिक रुपमा यो गाडिको बुकिङ ओपन गरेका छौ ।’ उनले देशका प्रमुख सहर विर्तामोड, जनकपुर, नेपालगञ्ज, भैरहवा, पोखरा,वुटवल र सुर्खेतमा समेत नयाँ डिलरको नियुक्ति प्रकृया चाँडै सुरु गर्ने बताए ।











