क्यानाडामाथि भारतको जवाफी कारबाही : क्यानाडाली उच्चायुक्तलाई पाँच दिनभित्र देश छाड्न निर्देशन



काठमाडौं । क्यानडाबाट भारतीय कूटनीतिज्ञलाई निष्कासन गरेपछि भारतले क्यानडाका वरिष्ठ कूटनीतिज्ञलाई देश निकाला गरेको छ ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘भारतले क्यानाडाली कूटनीतिज्ञलाई निष्कासन गरेको छ । क्यानडाका उच्चायुक्तलाई आज बोलाएर भारत सरकारको यो निर्णयबारे जानकारी गराइएको छ ।’ सम्बन्धित कूटनीतिज्ञलाई पाँच दिनभित्र भारत छोड्न भनिएको छ ।

यसअघि भारतीय विदेश मन्त्रालयले भारतस्थित क्यानाडाली उच्चायुक्तलाई बोलाएको थियो । केही समयअघि क्यानडाका उच्चायुक्त क्यामरुन म्याकी नयाँ दिल्लीको साउथ ब्लकस्थित विदेश मन्त्रालयको मुख्यालय पुगेका थिए ।

केही मिनेटको भेटपछि क्यामरुन म्याकी परराष्ट्र मन्त्रालयको कार्यालयबाट बाहिर निस्किए । यो अवधिमा उनले मिडियासँग खासै कुरा गरेनन् ।

कुरा के हो ?

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले हरदीप सिंह निज्जरको हत्यामा भारत सरकारको हात रहेको आरोप लगाएका छन् । भारतीय विदेश मन्त्रालयले क्यानडाको यो आरोपलाई पूर्णतया अस्वीकार गर्दै यसलाई बाइत कुरा भएको बताएको छ ।

यसै वर्षको जुन १८ मा क्यानडाको ब्रिटिस कोलम्बियास्थित गुरुद्वारा बाहिर निज्जरको गोली हानी हत्या गरिएको थियो । ट्रुडोले सोमबार क्यानडाको संसद्मा भने, ‘क्यानाडाली एजेन्सीहरूले निज्जरको हत्यामा भारत सरकारको हात हुनसक्ने पक्का भएको छ ।’

प्रकाशित मिति : आश्विन २, २०८० मंगलबार  १२ : ३२ बजे