नारायणी नदीमा क्रुजसिप पुनः सञ्चालनमा



नवलपुर, २१ मङ्सिर । गत असारबाट नारायणी नदी किनारमा बन्द अवस्थामा रहेको नेपालकै पहिलो क्रुजसिप आजदेखि पुनः सञ्चालनमा आएको छ ।

मनसुन भित्रिएसँग नारायणी नदीमा आएको बाढीका कारण बन्द भएको क्रुजसिप आजदेखि नियमित सञ्चालनमा ल्याइएको राइनो वाटर इन्टरटेनमेन्ट प्रालिले जनाएको छ ।

प्रालिका कार्यकारी निर्देशक दीपक ढुङ्गेलका अनुसार क्रुजसिप नियमित सञ्चालनमा आएसँगै आजदेखि दैनिक तीन ‘सिफ्ट’मा यात्रुलाई सेवा प्रदान गरिएको छ । एउटा टिकटमा एक व्यक्तिले एक घण्टा क्रुजमा यात्रा गर्न पाउने उल्लेख गर्दै उनले क्रुजभित्र नै रेष्टुरेन्टसहितको सुविधा भएको जानकारी दिए।

“दुई घण्टाको फरकमा क्रुजसिपबाट सेवा प्रदान गर्नेछौँ”, उनले भने, “क्रुजसिपबाट नियमित सञ्चालन गरिने सेवाका साथै ‘इभेन्ट क्रुज’ र ‘डिनर क्रुज’ पनि सञ्चालन गरिनेछ ।” सेवाग्राहीको मागअनुसार इभेन्ट क्रुजको सेवा प्रवाह गरिने जनाउँदै उहाँले यसमा विवाहको पार्टी, जन्मदिन, बैठक तथा सेमिनारलगायतका लागि प्याकेज राखिएको बताए।

एकपटकमा एक सय ५० जनासम्मलाई ‘क्रुजिङ’को सेवा प्रदान गर्न सकिने भन्दै उनले म्युजिक भिडियो सुटिङ, फिल्म सुटिङ, फोटोसहितका विभिन्न सेवा पनि क्रुजसिीपबाट उपलब्ध गराइने जानकारी दिए । डिनर क्रुज तथा इभेन्ट क्रुजमा सेवाग्राहीको मागअनुसार सेवा सुविधा उपलब्ध गराइने जनाउँदै उनले नियमित क्रुजमा भने रेष्टुरेन्टको सुविधा रहेकाले यात्रुहरुले बजारकै मूल्यमा खाजा तथा पेयपदार्थ पाउने बताए ।

क्रुजसिप सञ्चालक संस्था राइनो वाटर इन्टरटेनमेन्ट प्रालिका व्यवस्थापक विक्रम बस्यालले क्रुजले हिउँदे ‘अफर’ जारी गर्दै केही समयका लागि यात्रुलाई क्रुजिङको शुल्कसमेत घटाएको बताए । उनका अनुसार क्रुजमा यात्रा गर्नका लागि प्रतिव्यक्ति रु तीन सय ५० शुल्क निर्धारण गरिएको छ भने पाँचदेखि १० वर्षसम्मका बालबालिकाका लागि यो शुल्क रु दुई सय तोकिएको छ ।

“पाँच वर्षमुनिका बालबालिका तथा ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई भने क्रुजसिपले आफ्नो नियमति क्रुजिङमा निःशुल्क सेवा उपलब्ध गराउनेछ”, बस्यालले बताए ।

प्रकाशित मिति : मंसिर २१, २०८० बिहीबार  ५ : ०५ बजे