काठमाडौं । मंगलबार (भोलि) र बुधबार (पर्सि) नेपालमा मनसुन सक्रिय हुने र अत्याधिक बर्षा हुने भएकोले उक्त दुई दिन सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । महाशाखाले तीन दर्जन जिल्लामा रेड अलर्ट समेत जारी गरिएको छ ।
मनसुनको न्यूनचापीय रेखा मंगलबारदेखि नेपालनजिक सर्ने सम्भावना छ । यो प्रणालीको प्रभावले उक्त दुई दिन नेपालमा मनसुन सक्रिय हुने सम्भावना रहेकाले कोसी प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही तथा कर्णाली प्रदेश र मधेस प्रदेशका थोरै स्थानहरूमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ । साथै, वाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेशका एक–दुई स्थानमा अति भारी वर्षाको पनि सम्भावना रहको छ,” महाशाखाले सोमबार जारी गरेको मनसुन विशेष मौसम बुलेटिनमा उल्लेख छ ।
‘दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, सडक तथा हवाई यातायात समेत प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउनु हुन सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूमा अनुरोध छ,’ बुलेटिनमा थप भनिएको छ ।
ताप्लेजुङ, पाँचथर, संखुवासभा, तेह्रथुम, रसुवा, चितवन, सिन्धुपाल्चोक, धादिङ, नुवाकोट, दोलखा, म्याग्दी, बागलुङ, कास्की, पर्वत, स्याङ्जा, तनहुँ, नवलपरासी पूर्व, लमजुङ, गोरखा,कपिलवस्तु, रुपन्देही, पाल्पा, गुल्मी, नवलपरासी पश्चिम, दाङ, बर्दिया, प्युठान, अर्घाखाँची, कैलाली, कञ्चनपुर, डडेलधुरा, डोटी र बैतडी लगायतका जिल्ला उच्च जोखिमको सूचीमा रहेको महाशाखाले जनाएको छ ।










