शेख हसिना दिल्ली पुगिन्, बंगलादेशमा सेनाले अन्तरिम सरकार बनाउने



काठमाडौं । बंगलादेशमा प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर पलायन भएकि छन् । सुरुमा हसिना ढाकाबाट हेलिकप्टर चढेर भारतको त्रिपुरा राज्यको अगरतलातिर गएको समाचार सार्बजनिक भएको थियो ।

हसिनाको विमान सोमबार साँझ दिल्लीको हिन्डन एअरबेसमा अवतरण गरेको विवरण आएका छन्।इन्डिया टुडेका अनुसार हसिना सवार बंगलादेशी सेनाको जहाज स्थानीय समयअनुसार ५.३६ बजे उत्तर प्रदेशको गाजियावादस्थित हिन्डन एरयबेसमा अवतरण गरेको छ ।

उनी भारतमा नै बस्छिन् वा अन्यत्र जान्छिन् भन्ने अहिलेसम्म नखुले पनि कतिपय स्थानीय सञ्चारमाध्यमले उनी लन्डन जान सक्ने समाचार प्रकाशन गरिरहेका छन्।

हसिनाले राजीनामा दिएर पलायन भएसँगै देशका सेना प्रमुखले देशवासीका नाममा सम्बोधन गर्दै अब एउटा अन्तरिम सरकार गठन गरिने बताएका छन्।

प्रधानसेनापति वकर उज्जामनले आफू राष्ट्रपति मोहम्मद शहाबुद्दिनसँग भेट गर्न जाने बताउँदै दिनको अन्त्यसम्ममा कुनै समाधान हासिल हुने पनि बताए। तर सरकारको नेतृत्व कस्ले गर्ने भन्ने स्पष्ट भएको छैन।

राजधानी ढाकामा हजारौँ प्रदर्शनकारीहरू प्रधानमन्त्रीको सरकारी निवासमा प्रवेश गरेका छन्।

प्रकाशित मिति : श्रावण २१, २०८१ सोमबार  ७ : ४२ बजे