काठमाडौं । बाङ्ग्लादेशमा आन्दोलन चर्किएपछि प्रधानमन्त्री शेख हसिना राजीनामा दिएर देशबाट पलायन भएको केही घण्टापछि राजधानी ढाकामा एउटा विकास संस्थाका कर्मचारीलाई उनकी एक आफन्तले अत्तालिएर फोन गरिन्।
अभिरूप सरकार बाङ्ग्लादेशी हिन्दू हुन्। बाङ्ग्लादेशको ९० प्रतिशत जनसङ्ख्या मुसलमानहरूको छ। सरकारकी ती नातेदार एकल महिला हुन्। उनी ढाकाबाट झन्डै १०० किलोमिटर उत्तरमा पर्ने नेत्रोकोनास्थित मिश्रित बस्तीमा एउटा सगोलको परिवारमा बस्छिन्।
“उनी अत्तालिएकी थिइन्। उनले आफ्नो घरलाई भिडले आक्रमण गरेको र लुटपाट गरेको बताइन्,” सामाजिक संरक्षणविज्ञ सरकारले ढाकाबाट टेलिफोनमा भने।
उनकी आफन्तले उनलाई बताएअनुसार झन्डै १०० जना मानिस हातमा लट्ठी लिएर घरभित्र प्रवेश गरेका थिए। उनीहरूले फर्निचर, टेलिभिजन, बाथरुम र ढोकाहरू तोडफोड गरे। बाहिरिनुअघि उनीहरूले सबै नगद र गरगहना पनि लिएर गए। तर घरमा बसिरहेका १८ जनालाई भने उनीहरूले केही गरेनन्। उक्त घरमा सात परिवारका झन्डै छ बालबालिका पनि त्यहाँ थिए।
“तिमीहरू अवामी लीगका सन्तान हौ। तिमीहरूकै कारण यो देश नराम्रो अवस्थामा छ। तिमीहरूले देश छाड्नुपर्छ,” लुटपाट गरेर हिँड्नुअघि आक्रमणकारीहरूले भनेका थिए।
किशोरगन्जको नोगुवा क्षेत्रमा हिन्दू परिवारका घरहरूमा लुटपाट भएका विवरण आएका छन्।
“मैले २० देखि २५ वटा घर आक्रमणमा परेको सुनेँ। मेरो हिन्दू साथीको सुन पसल फोडिएको र त्यहाँ देखाएर राखिएका गरगहनाहरू लुटियो। तर उनीहरूले सेफ फोर्न सकेनन्।”एक प्रत्यक्षदशिले भने,“यो बाङ्ग्लादेशमा सबैतिर छ। मुसलमानहरूले हिन्दूहरूको घर तथा भवनलाई पनि सुरक्षा दिएका छन्,” उनले भने,“यो डरलाग्दो समय हो। शान्ति र सुव्यवस्था छैन। र हामी फेरि निसानामा परिरहेका छौँ,” बीबीसीबाट














